
१३ मंसिर,
काठमाडौं । प्रहरी निरीक्षक भएको भन्दै एक व्यक्तिलाई मुद्दा नचलाई छुटाइदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ माग गर्ने पाँच जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार एक व्यक्तिलाई प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएको थियो। सोही क्रममा उनलाई भेट्न पुगेका भाइसँग केही व्यक्तिहरूले आफूहरू प्रहरी निरीक्षक भएको बताउँदै दाजुलाई मुद्दा नचलाई छुटाइदिने भन्दै २ लाख रुपैयाँ माग गरेका थिए।
उनीहरूले होटलको खर्चसमेत तिर्न लगाएको र रकम दिन अस्वीकार गरेपछि फोन तथा म्यासेजमार्फत विभिन्न किसिमका धम्की दिँदै मानसिक तथा आर्थिक तनाव दिएको सूचना प्रहरीसमक्ष पुगेको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, वीरेन्द्र चोकबाट घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ओखलढुंगाका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापका २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाका ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकका २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीका ३० वर्षीय हर्क सिंह भोलन रहेका छन्।
पक्राउ परेका पाँचै जनामाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













