
८ मंसिर,
बाँके । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने २७ वटा सार्वजनिक सवारीसाधनलाई बाँके ट्राफिक प्रहरीले कारबाही गरेको छ। चेकजाँचका क्रममा ती सवारीसाधनबाट ८२ वटा अतिरिक्त ग्याप सिट तथा मुढा नियन्त्रणमा लिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय चिसापानीको संयुक्त टोलीले बैजनाथ गाउँपालिका–१ स्थित मिनी गाभर नजिक रत्नराजमार्गमा सार्वजनिक सवारीसाधन चेकजाँच गरेको हो।
सुर्खेत–नेपालगञ्ज रुटमा सिट क्षमताभन्दा बढी यात्रु बोक्दा हुन सक्ने सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको चेकजाँचका क्रममा ४५ वटा सार्वजनिक सवारीसाधन निरीक्षण गरिएको थियो।
चेकजाँचका क्रममा ग्याप सिट तथा अतिरिक्त सिट जडान गरी यात्रु ओसारपसार गर्ने २७ वटा सवारीसाधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीले जानकारी दिएका छन्।
कारबाहीमा परेका सवारीसाधनबाट ८२ वटा अतिरिक्त ग्याप सिट तथा मुढा नियन्त्रणमा लिनुका साथै अतिरिक्त सिटमा यात्रा गरिरहेका यात्रुहरूलाई अन्य सवारीसाधनमा व्यवस्थापन गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।
सिट क्षमताभन्दा बढी यात्रु बोक्ने र सवारीसाधनमा अनधिकृत रूपमा अतिरिक्त सिट जडान गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले ट्राफिक प्रहरीले चेकजाँचलाई तीव्रता दिएको जनाएको छ।













