बाँकेको चिसापानीमा प्रहरीद्वारा ८ राउण्ड हवाई फायर

८ मंसिर,

कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा विवाद चर्किएपछि प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ। घटनामा चार प्रहरीसहित पाँच जना घाइते भएका छन्।

आज बिहान करिब ४ बजेको समयमा मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले स्थानीय ४२ वर्षीय प्रेमबहादुर थापामाथि निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ।

स्थानीय २३ वर्षीय मनोज सुनार, २८ वर्षीय दीपक सुनार, २० वर्षीय दिनेश सुनारलगायतको समूहले थापामाथि कुटपिट गरेको बताइएको छ। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी नायब निरीक्षक डिलबहादुर गिरीको कमाण्डमा ११ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले उक्त समूहलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गामुढा भएपछि स्थिति नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते थापाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। घटनामा संलग्न मनोज सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुर पठाएको छ भने अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

घटनामा प्रहरी नायब निरीक्षक गिरी, प्रहरी सहायक हवल्दार बालकृष्ण जिसी, प्रहरी सहायक हवल्दार रेशम चौधरी र प्रहरी जवान अमर खत्री घाइते भएका छन्। घाइते प्रहरीहरूको अवस्थाबारे भने थप विवरण सार्वजनिक भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares