चिसापानीमा जात्रा कि आतंक? स्थानीयमाथि कुटपिटदेखि प्रहरीमाथि ढुङ्गामुढासम्म, ४ प्रहरी घाइते

पूर्णिमा जात्रामा मदिरा सेवन गरी १५ जनाको समूहले स्थानीयमाथि कुटपिट; प्रहरीलाई आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइयो, चार प्रहरी घाइते

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा मदिरा सेवन गरी उपद्रव मच्चाएको समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ। स्थानीयमाथि निर्घात कुटपिट गरेको समूहले प्रहरीमाथि समेत ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो।

प्रहरीका अनुसार आज बिहान करिब ४ बजेको समयमा १५ जनाको समूहले मादक पदार्थ सेवन गरी स्थानीय बानियाभार निवासी ४२ वर्षीय प्रेमबहादुर थापामाथि कुटपिट गरेको थियो। कुटपिटमा संलग्न भनिएका स्थानीय २३ वर्षीय मनोज सुनार, २८ वर्षीय दीपक सुनार, २० वर्षीय दिनेश सुनारलगायतका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी नायव निरीक्षक (प्र.ना.नि.) डिलबहादुर गिरीको कमाण्डमा ११ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो। कुटपिटमा संलग्न समूहलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि नै ढुङ्गामुढा गर्न थालेपछि थप तनाव उत्पन्न भएको थियो।

प्रहरीमाथि आक्रमण र स्थिति अनियन्त्रित हुन थालेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको जनाएको छ।

कुटपिटबाट घाइते प्रेमबहादुर थापाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचार भइरहेको छ। घटनामा प्रहरी नायव निरीक्षक डिलबहादुर गिरी, प्रहरी सहायक हवल्दार बालकृष्ण जिसी, प्रहरी सहायक हवल्दार रेशम चौधरी तथा प्रहरी जवान अमर खत्री घाइते भएका छन्।

घटनामा संलग्न भनिएका मनोज सुनारलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाएको छ। समूहका अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पूर्णिमा जात्राको नाममा मदिरा सेवन गरी कुटपिट र प्रहरीमाथि आक्रमणजस्तो घटना भएपछि चिसापानी क्षेत्रमा सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares