
१३ मंसिर,
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ ।
हडियाबाबाको ६१औँ पुण्यस्मृति दिवसका अवसरमा यतिबेला नेपालको विभिन्न जिल्ला र भारतबाट समेत सयाैँ साधुसन्त चिसो मौसमको बेवास्ता गर्दै दिनरात हडियाबाबा मन्दिर परिसरको खुल्ला बगैचामा बिताइरहेका छन् ।
हडियाबाबाको ६१औ पुण्यस्मृति दिवसका अवसरमा मन्दिरमा यही मङ्सिर १० गतेदेखि सुरु भएको छ दिने हडियाबाबा धार्मिक मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट ७०० भन्दा बढी साधुसन्त सहभागी भएको हडियाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए।
“रातको समयमा पनि साधुसन्त मन्दिर परिसरमा आगो तापेर भजनकीर्तनमा रमाउने गर्नुहुन्छ,” अध्यक्ष वैश्यले भने, “मेलामा प्रत्येक दिन उपस्थित साधुसन्त तथा हडियाबाबाका भक्तजनलाई भण्डारा खुवाउने व्यवस्था मिलाइएको छ ।”
हडियाबाबा आश्रम समितिका सदस्य राकेश श्रीवास्तावले मेलामा नेपालको बाँके, बर्दिया, दाङ, कैलालीलगायत छिमेकी मित्रराष्ट्र भारतबाट पनि साधुसन्त, महत्मा आउने गरेको जानकारी दिए ।
उनका अनुसार मेलामा राति प्रवचन नाटक मञ्चनलगायत विभिन्न भक्तिका कार्यक्रम आयोजना हुन्छ । मेलामा उपस्थित साधुसन्त, महात्माहरूलाई हरेक समयमा खानानास्तालगायतको व्यवथापन गर्ने गरिएको छ ।
मेलाको अन्तिम दिन बुधबार मेलामा टाढाबाट आएका साधुसन्तलाई बिदाइको बेला कम्मल, दक्षिणा आदिकोे व्यवस्था गरिएको अध्यक्ष वैश्यले जानकारी दिए ।
करिब २० कट्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर र गौशाला रहेको छ । पर्खालले घेरिएको मन्दिर परिसरभित्र पार्क छ । शान्त वातावरणमा रहेको हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र पनि हो ।
करिब एक सय वर्षअघि नेपालगञ्जमा आएका बाबाले आफ्नो तपस्याको शक्तिबाट चाहेको वस्तु बनाउन सक्ने, भक्तजनहरूको इच्छा पूर्ति गर्नसक्ने जनश्रुति तथा विश्वास रहीआएकाले बाँके र भारतका विभिन्न क्षेत्रबाट साधुसन्त तथा हडियाबाबाका भक्तजन प्रत्येक वर्ष मेलामा सहभागी हुने गरेको अध्यक्ष वैश्यले बताए ।
मन्दिर परिसरमा हडियाबाबाको समाधि, आश्रम र मन्दिरसहित साधुसन्त बस्न मिल्ने संरचना तथा बगैँचा रहेको छ । सोही बगियामा हरेक वर्ष हडियाबाबाको वार्षिक पुण्यतिथिमा मेला लाग्ने प्रचलन रहेको छ । अध्यक्ष वैश्यका अनुसार, मन्दिरमा आएर भाकल गर्नेहरूको मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।
रामलीला धार्मिक नाटक पनि मञ्चन हुने मेलामा प्रत्येक दिन साँझपख स्थानीयवासीको ठूलो सङ्ख्यामा सहभागी हुने गरेको छ । मेला अवधिभर प्रत्येक दिन साँझ हडियाबाबा मन्दिरमा दर्शन गर्न र प्रसाद ग्रहण गर्न टाढा टाढाबाट झक्तजन आउने गरेको स्थानीय अगुवा सुधिर गुप्ताले बताए ।













