साउदीमा हवाई आक्रमण : एक नेपाली कामदारको मृत्यु, तीन घाइते

काठमाडौं, ११ मंसिर । साउदी अरबमा केही दिनदेखि भइरहेका हवाई आक्रमणमा एक नेपाली कामदारको ज्यान गएको छ भने अरू तीन नेपाली घाइते भएका छन्। साउदी अरबको दक्षिण-पश्चिममा रहेको जजानको तेल प्रशोधन केन्द्रमा भएको हवाई आक्रमणमा ती नेपाली कामदार मारिएका हुन्।
साउदी ऊर्जा मन्त्रालयका अनुसार बिहीबार (नोभेम्बर २६) जजान रिफाइनरीमा “शत्रुतापूर्ण हवाई प्रक्षेप्यास्त्र” खसेपछि आगलागी भयो र प्रशोधन केन्द्रको केही काम अस्थायी रूपमा रोकियो। सो घटनामा एक नेपाली कामदारको मृत्यु भयो र विभिन्न देशका अरू कामदार घाइते भए। आगो पछि नियन्त्रणमा आयो। आपत्कालीन टोलीले क्षतिको विवरण संकलन र सुरक्षा जाँच सुरु गरेका छन्।
शरीरको ६८ प्रतिशत भाग जलेको थियो
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “ती नेपाली कामदारको ६८ प्रतिशत भाग जलेको रहेछ, उपचारको क्रममा दु:खद निधन भयो।” उनका अनुसार हुथी विद्रोहीले हानेका मिसाइल र ड्रोनलाई साउदी हवाई रक्षा प्रणालीले आकाशमै नष्ट गर्ने गरेको छ। तर त्यसबाट उछिट्टिएका टुक्राले आगलागी र मानवीय क्षति भइरहेको छ।
“अहिलेसम्म त्यस्ता टुक्राले चार जना नेपालीलाई लागिसकेको छ। एक जना सामान्य उपचारपछि घर फर्किनुभयो, दुई जना गम्भीर घाइते हुनुहुन्छ र एक जनाको दु:खद निधन भयो,” प्रवक्ता क्षेत्रीले भने। रियादस्थित नेपाली दूतावासले घाइतेको उपचारको फलोअप र शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिसकेको छ। मृतक र घाइतेको नाम तथा पहिचान भने अझै सार्वजनिक गरिएको छैन।
रियादको टावरमा भएको आक्रमणमा तीन नेपाली घाइते
नोभेम्बर २४ (मंगलबार) राजधानी रियादको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एउटा टावरमा आक्रमण हुँदा ११ जना घाइते भएका थिए। तीमध्ये तीन जना नेपाली थिए। साउदी नागरिक सुरक्षा निकायले उक्त आक्रमणको जिम्मेवार यमनको हुथी समूहलाई ठहर्‍याएको थियो। कार्यवाहक राजदूत सिर्जना अधिकारीका अनुसार घाइतेमध्ये दुई जनाको उपचार भइरहेको छ र एक जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन
नेपाल सरकारद्वारा आक्रमणको निन्दा
परराष्ट्र मन्त्रालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्‍यो। विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको छ। मन्त्रालयले कुनै पनि बहानामा नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने बतायो। सबै पक्षलाई अधिकतम संयम अपनाउन र विवाद शान्तिपूर्ण उपायबाट समाधान गर्न पनि आग्रह गर्‍यो।
साउदी गठबन्धनको कडा जवाफ
साउदी नेतृत्वको सैन्य गठबन्धनले जजान रिफाइनरीमा आक्रमण गर्न प्रयोग भएको यमनको होदेइदा प्रान्तस्थित हुथीको ब्यालिस्टिक मिसाइल प्रक्षेपण स्थल ध्वस्त पारेको जनाएको छ। लालसागर तटमा यमनी सीमानजिकै रहेको सो रिफाइनरीले दैनिक ४ लाख ब्यारेलसम्म कच्चा तेल प्रशोधन गर्न सक्छ। गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले नागरिक पूर्वाधारमाथिको आक्रमणको जवाफ कडा सैन्य कारबाहीबाट दिइने चेतावनी दिएका छन्।
यसअघि पनि नेपालीले ज्यान गुमाएका छन्
यो साउदीमा भएको यस्तो पहिलो घटना होइन। गत अक्टोबर २१ मा साउदी अरामकोको शैबाह तेलक्षेत्रमा रोकिएको ड्रोनको भग्नावशेष खस्दा नेपाली कामदार भरत महतोको मृत्यु भएको थियो। उनको परिवारलाई सम्बन्धित कम्पनीले १ लाख ८१ हजार रियाल (७२ लाख रुपैयाँभन्दा बढी) दिने सहमति भएको थियो। सोही दिन दम्माम विमानस्थलमा भएको आक्रमणमा पनि एक नेपाली घाइते भएका थिए।
साउदी अरब नेपाली कामदारहरूको प्रमुख श्रम गन्तव्य हो। सरकारी तथ्यांकअनुसार त्यहाँ करिब साढे तीन लाख नेपाली कामदार छन्, तर वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने अनुमान छ। दूतावासले त्यहाँका नेपालीलाई आफू सुरक्षित रहन, अत्यावश्यक काममा मात्र यात्रा गर्न र साउदी सरकारले जारी गरेका सुरक्षा सूचना पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares