
१० मंसिर,
कोहलपुर । कोहलपुरमा सञ्चालन हुन लागेको मेला महोत्सवले स्थानीय व्यवसायीहरूलाई आर्थिक असर पार्ने भन्दै व्यवसायी संघ–संस्थाहरूले उक्त मेला रोक्न माग गरेका छन् ।
होटल व्यवसायी संघको आयोजनामा आगामी २०८३ पुस १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुन लागेको भनिएको मेला महोत्सवप्रति असहमति जनाउँदै कोहलपुर कपडा व्यवसायी संघले कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यसमक्ष ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा मेला महोत्सवका नाममा कपडा, जुत्ता, चप्पल तथा दैनिक उपभोग्य वस्तुहरूको खुला बिक्री–वितरण गर्दा घरभाडा र कर तिरेर व्यवसाय सञ्चालन गरिरहेका स्थानीय पसल तथा सटर व्यवसायीहरू प्रत्यक्ष मारमा पर्ने उल्लेख गरिएको छ ।
विशेषगरी कपडा, जुत्ता–चप्पलका खुद्रा तथा थोक व्यवसायी र वितरकहरूलाई मुख्य व्यापारिक सिजनमै मेला सञ्चालन हुँदा ठूलो आर्थिक क्षति पुग्ने व्यवसायीहरूको भनाइ छ ।
कोहलपुर कपडा व्यवसायी संघका अध्यक्ष अराजीव शर्माद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कोहलपुर जुत्ता–चप्पल व्यवसायी संघ, कोहलपुर वितरक संघलगायतका व्यवसायी संघ–संस्थाहरू पनि व्यावसायिक मेलाको विपक्षमा रहेको उल्लेख गरिएको छ ।
व्यवसायीहरूले स्थानीय बजारको संरक्षण र स्वच्छ व्यापारिक वातावरण कायम गर्न शुद्ध प्रदर्शनीमूलक मेला बाहेक अन्य कुनै पनि व्यावसायिक मेला महोत्सव सञ्चालन गर्न नदिन नगरपालिकासँग आग्रह गरेका छन् ।
साथै, पुस १० गतेदेखि सञ्चालन हुने भनिएको उक्त मेला तत्काल रोक्न उनीहरूले माग गरेका छन् ।













