
९ मंसिर,
बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।
मंगलबार (मंसिर ८ गते) शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले नेपालगञ्ज र कोहलपुर क्षेत्रका पत्रकारलाई लक्षित गरी छुट्टाछुट्टै एआईसम्बन्धी तालिम सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ मा पत्रकार क्षमता विकासका लागि विनियोजन गरेको बजेटबाट उक्त तालिम सञ्चालन गरिने महासंघले जनाएको छ । तालिममा पत्रकारितामा एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोगसम्बन्धी विषय समेटिनेछ ।
बैठकले शाखामा आबद्ध २४२ जना साधारण सदस्यमध्ये २०८१, २०८२ र २०८३ सालका लागि सदस्यता नवीकरण गरेका सदस्यहरूको नामावली तथा विधानअनुसारको शुल्क महासंघको प्रदेश र केन्द्रीय समितिमा पठाउने निर्णयसमेत गरेको छ ।
त्यसैगरी, नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका माग सम्बोधनका लागि घोषणा गरेको आन्दोलनलाई बाँकेमा पनि सशक्त बनाउने निर्णय गरेको छ ।
सरकारले महासंघले उठाएका माग तथा प्रेस स्वतन्त्रताको विषयमा अनुदार व्यवहार देखाएको भन्दै आन्दोलनलाई जिल्लास्तरमा प्रभावकारी बनाउने निर्णय गरिएको हो ।
यसैक्रममा मंसिर ९ गते बुधबार बाँके प्रशासनमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । उक्त प्रदर्शनमा जिल्लाका सम्पूर्ण पत्रकारलाई व्यापक सहभागिताका लागि महासंघ बाँके शाखाले आह्वान गरेको छ ।














