
१२ मंसिर,
नेपालगञ्ज । सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन्।
निलम्बनमा पर्नेमा अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारु र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जमा कार्यरत प्रहरी जवान टोपबहादुर खड्का रहेका छन्।
उनीहरू २०८३ मंसिर ८ गते ट्राफिक प्रहरीको पोसाकमा ड्युटीमा रहेको अवस्थामा सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएको देखिने भिडियो मंसिर १० गते फेसबुक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
उक्त भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले दुवै प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम मंसिर ११ गतेदेखि लागू हुने गरी निलम्बन गरेको जनाएको छ।
कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।













