
काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमार्फत योगदानमूलक निवृत्तिभरण (पेन्सन) योजनामा आबद्ध कर्मचारीका लागि महत्वपूर्ण व्यवस्था स्पष्ट गरेको छ।
मार्गदर्शन अनुसार वि.सं. २०७६ साउन १ गतेपछि स्थायी नियुक्ति भएका निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल विशेष सेवाका कर्मचारीले २० वर्ष सेवा अवधि पूरा नगरी कुनै कारणवश सेवाबाट बाहिरिएमा उनीहरूको व्यक्तिगत निवृत्तिभरण खातामा जम्मा भएको योगदान रकम, त्यसमा प्राप्त ब्याज तथा मुनाफासहितको सम्पूर्ण रकम एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरिएको छ।
यस व्यवस्थाले योगदानमूलक निवृत्तिभरण योजनामा आबद्ध कर्मचारीलाई सेवा अवधि पूरा नभए पनि आफ्नो योगदान रकम सुरक्षित रूपमा फिर्ता पाउने कानुनी आधार स्पष्ट गरेको सरकारी अधिकारीहरू बताउँछन्।
मुख्य बुँदा:
* २०७६ साउन १ पछि स्थायी नियुक्ति भएका कर्मचारीमा लागू।
* २० वर्ष सेवा पूरा नगरी सेवाबाट बाहिरिए पनि सुविधा उपलब्ध।
* कर्मचारीको व्यक्तिगत खातामा रहेको योगदान रकम, ब्याज र मुनाफासहित एकमुष्ट भुक्तानी हुने।
– BankeUpdate.com










