
सुर्खेत । कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिका–१४ गढीस्थित प्राचीन धार्मिक आस्थाको केन्द्र सिद्धपाइला मन्दिरमा आउँदो जेठ २ गतेदेखि ५ गतेसम्म विविध धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरिने भएको छ। स्थानीय समाजसेवी, बृद्ध समूह तथा सनातन धर्मप्रेमीहरूको संयुक्त पहलमा कार्यक्रम सञ्चालन हुन लागेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार जेठ २ र ३ गते मन्दिर परिसरमा श्रृङ्गार तथा सरसफाइ कार्यक्रम गरिनेछ। त्यसपछि जेठ ४ गते बिहान ९ बजेदेखि सामूहिक संकल्प समिति गठन गरिनेछ भने बाजागाजासहित धार्मिक यात्रा सालडाँडा बाख्रापालनसम्म निकालिने कार्यक्रम रहेको छ। सोही दिन साँझ माहाकालेश्वर मन्दिर प्राङ्गणमा रात्रीकालीन भजन–कीर्तन आयोजना गरिने जनाइएको छ।
यस्तै, जेठ ५ गते बिहान ८ बजेदेखि छेडा चोकदेखि प्राचीन सिद्धपाइला मन्दिरसम्म बाजागाजासहित भव्य धार्मिक महायात्रा निकालिनेछ। कार्यक्रममा विशेष पूजा–पाठसमेत गरिने आयोजकले जानकारी दिएको छ।
“सिद्धगढी बृद्ध समूह”, “कालिका बृद्ध समूह”, “चेतनशील समाज बिनपा–१४” लगायत समग्र सनातन धर्मप्रेमीहरूको साझा अभियानका रूपमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ। आयोजकले सम्पूर्ण श्रद्धालु तथा स्थानीयवासीलाई कार्यक्रममा सहभागी भई धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा हातेमालो गर्न आग्रह गरेका छन्।
“आउनुहोस्, हाम्रो मौलिक धार्मिक धरोहर संरक्षण अभियानमा सहभागी बनौँ” भन्ने सन्देशसहित कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको आयोजकले बताएका छन्।













