
बाँके, ११ साउन — सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा साउन १० गते आइतबार राति भएको दुःखद् घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन जिल्ला कार्यसमिति बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संगठनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा गोली लागी २४ वर्षीय ओमप्रकाश मेहेताको अल्पायुमै निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घटनामा घाइते भएका सर्वसाधारण तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
नेपाल बहुसांस्कृतिक र सहिष्णु राष्ट्र रहेको उल्लेख गर्दै विज्ञप्तिमा धार्मिक, भाषिक सद्भाव, सामाजिक आत्मीयता र सहअस्तित्व कायम राख्नु सबैको साझा दायित्व भएको औंल्याइएको छ। यो संवेदनशील परिस्थितिप्रति गम्भीर भई देशको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र प्रजातन्त्रका मूल्य-मान्यताको रक्षाका लागि उच्च सजगताका साथ अघि बढ्न सरकार, सुरक्षा निकाय तथा सम्पूर्ण सरोकारवाला पक्षहरूसँग जोडदार माग गरिएको छ।
त्यस्तै, संगठनले घटनाको निष्पक्ष तथा सत्य-तथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र शान्ति-सुरक्षाको स्थिति पूर्ण रूपमा नियन्त्रणमा लिन सरकारसँग जोडदार माग गरेको छ। देशको मौलिक पहिचान, सामाजिक सद्भाव र शान्ति-सुव्यवस्था कायम राख्ने हरेक सकारात्मक पहलमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सदैव सहकार्य गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्तिमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेका अध्यक्ष युवराज शाही, क्षेत्रीय अध्यक्ष (क्षेत्र नं. ३) सुमन पौडेल, खजुरा गाउँपालिका अध्यक्ष द्रोणदेव गिरी र क्षेत्र नं. २ प्रदेश ‘क’ अध्यक्ष धर्मप्रकाश जैसवालको संयुक्त हस्ताक्षर रहेको छ।










