भूमिहीनलाई लालपुर्जा वितरण प्रक्रिया अघि बढ्ने संकेत, कोहलपुर नगरपालिकाको पहल तीव्र

कोहलपुर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरणको प्रक्रिया पुनः अघि बढाउने विषयमा कोहलपुर नगरपालिकाले भूमि समस्या समाधान समितिका केन्द्रीय पदाधिकारीहरूसँग महत्वपूर्ण छलफल गरेको छ।

भेटका क्रममा नगरपालिकाले भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाण–पुर्जा उपलब्ध गराउन आफ्नो तर्फबाट पूरा गर्नुपर्ने सम्पूर्ण प्रशासनिक तथा कानुनी प्रक्रिया सम्पन्न गरिसकेको जानकारी गराएको जनाएको छ।

नगरपालिकाले जेन्जी आन्दोलनपछि रोकिएको लालपुर्जा वितरण कार्य तत्काल पुनः सुरु गर्न, वडा नं. १ मा वितरण गरिएका लालपुर्जाको मालपोतमा श्रेस्ता कायम गर्न तथा वडा नं. २, १२ र १३ मा पर्ने मध्यवर्ती क्षेत्रसम्बन्धी समस्या समाधानका लागि आवश्यक पहल गर्न भूमि समस्या समाधान समितिको ध्यानाकर्षण गराएको छ।

छलफलका क्रममा समितिका अध्यक्षसहित पदाधिकारीहरूले कोहलपुर नगरपालिका र भूमि आयोगबीच आवश्यक समन्वय गर्दै बाँकी प्रक्रिया शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नगरपालिकाले भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने अभियान सामाजिक न्याय, नागरिक अधिकार र सम्मानसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै वास्तविक लाभग्राहीसम्म लालपुर्जा पुर्‍याउन आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ।

लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि यो पहलले प्रक्रिया पुनः अगाडि बढ्ने आशा जगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares