
बिराटनगर, पुस १७।
सुनसरीको कोशी गाउँपालिका–१मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लाग्दा स्थानीय ४५ वर्षीय विजय साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले पुष्टि गरेको छ।
घटना बुधबार राति करिब १:१० बजे पुरी टोलमा भएको हो। साह आफ्नै सिटी सफारीमा भारततर्फबाट ८–१० बोरा चिनी ल्याउँदै गर्दा प्रहरीसँग विवाद भएको र त्यसक्रममा गोली लागेको जनाइएको छ।
साहको मृत्युपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले शव उठाउन नदिई सडकमा प्रदर्शन गरिरहेका छन्। घटनास्थलमा प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै मुचुल्का उठाउने काम जारी छ।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले भने तस्करीमा संलग्न समूहसँग दोहोरो गोली हानाहान भएको र जवाफी फायरिङका क्रममा मृत्यु भएको दाबी गरेका छन्।
तर स्थानीयले लेनदेनसम्बन्धी विवादकै कारण गोली चलाइएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
यस घटनापछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









