
१ बैशाख,
बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै विगतका अनुभवबाट सिकेर उज्ज्वल भविष्यतर्फ अघि बढ्न आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले बितेको वर्ष २०८२ अब इतिहास बनिसकेको उल्लेख गरेका छन्। उनले सफलता वा विफलता, अवसर वा चुनौती, कमजोरी वा उपलब्धि—यी सबै पक्षहरूको समिक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
ओलीले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीच सार्थक समन्वय हुन सके देशले सकारात्मक परिवर्तनको गति लिन सक्ने विश्वास व्यक्त गरेका छन्। साथै, नयाँ वर्षले राष्ट्रलाई सुरक्षित, स्थिर र समृद्ध बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेका छन्।
नयाँ वर्ष २०८३ ले देशमा स्थायित्व, समृद्धि र सहकार्यको वातावरण निर्माण गरोस् भन्ने कामनासहित उनले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।









