१ वैशाख,

बाँके । बाँके जिल्लामा गहुँखेती गर्ने जमिनको क्षेत्रफल बर्सेनि घट्दै गए पनि यो वर्ष उत्पादनमा भने वृद्धि हुने भएको छ। उन्नत जातको बीउको प्रयोग, सिँचाइको उपलब्धता र अनुकूल मौसमका कारण उत्पादन बढ्ने अनुमान कृषि ज्ञान केन्द्र बाँकेले गरेको हो।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी एवं वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकका अनुसार खेती गरिने जग्गा घटे पनि उत्पादकत्व बढेकाले समग्र उत्पादनमा सकारात्मक प्रभाव देखिएको छ। “बीउ प्रतिस्थापन दर बढ्नु र किसानले हाइब्रिड जातका बीउ बढी प्रयोग गर्नु उत्पादन बढ्नुको मुख्य कारण हो,” पाठकले भने।

बाँकेमा गत वर्ष २० हजार ८९५ हेक्टर क्षेत्रफलमा ७७ हजार ७०८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यो वर्ष समयमै वर्षा भएको र बालीमा रोग वा कीराको संक्रमण नदेखिएकाले गत वर्षभन्दा बढी उत्पादन हुने देखिएको छ।

बाली उपचार शिविर, घुम्ती स्थलगत तालिम र किसानको खेतमै पुगेर गरिने अनुसन्धान जस्ता प्राविधिक सहयोगले पनि क्षेत्रफल घटे पनि उत्पादन बढाउन मद्दत पुगेको कार्यालयको भनाइ छ। अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले पनि यो वर्ष मौसमले साथ दिएकाले गहुँको उत्पादन राम्रो भएको पुष्टि गरे। बाली स्याहार्ने बेलासम्म सामान्य हावाहुरी र वर्षाले केही क्षति पुर्‍याए पनि समग्रमा उत्पादन सन्तोषजनक रहेको उनले बताए।

तर, जिल्लामा गहुँखेती हुने जमिन भने निरन्तर ओरालो लागिरहेको छ। आर्थिक वर्ष २०८०/०८१ मा २१ हजार ५१५ हेक्टरमा खेती भएकोमा गत वर्ष त्यो घटेर २० हजार ८९५ हेक्टरमा सीमित भएको थियो। यो वर्ष क्षेत्रफल अझै घटेको छ।

क्षेत्रफल घट्नुका पछाडि किसानहरूले गहुँको सट्टा तोरी, वसन्ते मकै र तरकारी खेतीतर्फ आकर्षण देखाउनु प्रमुख कारण मानिएको छ। साथै नेपालगञ्ज, कोहलपुर र खजुरा क्षेत्रमा बढ्दो सहरीकरण तथा राप्तीसोनारी क्षेत्रमा जंगली जनावरको आक्रमणका कारण पनि किसानहरूले गहुँखेती गर्न छाड्दै गएका छन्।

यतिबेला बाँकेका किसानहरू वर्षभरिको मेहनतको फल भित्र्याउन गहुँ काट्न र थ्रेसिङ गर्न व्यस्त छन्। – रासस

प्रतिक्रिया

सम्बन्धित ख