
नेपालगञ्ज, २०८२ बैशाख २९ – बाँके जिल्लामा हालै नियुक्त प्रमुख प्रहरी उपरीक्षक (एसपी) राम प्रसाद घर्तीले सोमबार नेपालगञ्जमा सञ्चारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्दै कानूनको शासन, पारदर्शिता, र जनमैत्री प्रहरी सेवा सुनिश्चित गर्ने दृढता व्यक्त गरेका छन्।
जिल्ला प्रहरी कार्यालय, बाँकेमा आयोजित उक्त कार्यक्रममा एसपी घर्तीले आफूले अघि सार्न लागेको प्रमुख कार्यदिशा प्रस्तुत गरे। उनले लागुऔषध कारोबार, संगठित अपराध र हिंसात्मक गतिविधिमाथि कठोर निगरानी र नियन्त्रण गर्ने प्रतिबद्धता जनाए। साथै, प्रेस र प्रहरीबीचको विश्वास, सहयोग र नियमित संवादमार्फत समन्वयात्मक सम्बन्ध निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताए।
“म खुला ढोका नीतिमा विश्वास गर्छु। सञ्चारकर्मीहरू हाम्रो ऐना हुन्। तपाईंहरूको सुझाव, आलोचना र प्रश्न हाम्रो सुधारको जग हुन्,” एसपी घर्तीले स्पष्ट शब्दमा भने।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका पदाधिकारी, स्थानीय सञ्चारमाध्यमका सम्पादक, पत्रकार तथा जिल्ला प्रहरी कार्यालयका वरिष्ठ अधिकृतहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागी सञ्चारकर्मीहरूले जिल्लाको समग्र सुरक्षा अवस्था, सूचनाको सहज आदानप्रदान र प्रेस–प्रहरी सम्बन्ध सुदृढीकरणका लागि आफ्ना महत्वपूर्ण सुझावहरू प्रस्तुत गरे।
कार्यक्रम सौहार्दपूर्ण र विश्वासपूर्ण वातावरणमा सम्पन्न भयो। सहभागीहरूले नयाँ नेतृत्वले बाँके जिल्लामा जनसुरक्षा, सुशासन र नागरिकमैत्री प्रहरी प्रणालीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
- एसपी घर्तीको आगमनसँगै बाँकेमा प्रहरी सेवाको गुणस्तर सुधार, जनतासँगको संवाद र शान्ति सुरक्षामा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ। जिल्लामा अब प्रहरी मात्र कानून कार्यान्वयन गर्ने निकाय नभई, नागरिकको विश्वास जित्ने सेवा प्रदायकको रूपमा स्थापित हुने संकेत देखिएको छ।