
रुपन्देही — सुप्रिम बचत तथा ऋण सहकारी संस्था घोटाला प्रकरणमा रवि लामिछानेविरुद्ध किटानी जाहेरी दिएको भन्दै सञ्चार माध्यममा भइरहेका प्रचारप्रति पीडित नारायणबहादुर पहराईले आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै पहराईले आफूले रवि लामिछानेविरुद्ध किटानी जाहेरी नदिएको स्पष्ट पारेका छन्। उनका अनुसार आफू पनि अन्य सयौं पीडितमध्ये एक हुन् र प्रहरीको आग्रहमा इलाका प्रहरी कार्यालय, बुटवलमा सामान्य उजुरी दिएका थिए। तर उक्त उजुरी कुनै व्यक्तिविशेष लक्षित थिएन, केवल बचत रकम फिर्ता माग्ने उद्देश्यले मात्र गरिएको थियो।
“रवि लामिछानेविरुद्ध मैले जाहेरी दिएकै छैन। मेरो उजुरी व्यक्ति लक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो,” पहराईले लेखेका छन्, “एकपटक नसोधी, सहमतिसमेत नलिई मलाई मुख्य उजुरीकर्ता बनाइएको छ।”
उनले आफूलाई बिना जानकारी मुख्य उजुरीकर्ता बनाइएकाे र सरकारविरुद्ध मुद्दा पनि दर्ता गराइएकोप्रति आश्चर्य व्यक्त गरेका छन्। पहराई भन्छन्, “कोही व्यक्ति लक्षित थिएन, छैन। मेरो व्यक्ति लक्षित नगरिएको उजुरीलाई देखाएर केहीले स्वार्थ पूरा गर्न खोजेका हुन् भने म अहिले पनि उजुरी/मुद्दा फिर्ता लिन राजी छु।”
उनले सहकारी पीडितको मुद्दालाई विषयान्तर गर्ने र निर्दोषलाई फसाउने काम बन्द हुनुपर्ने भन्दै सबै पीडितलाई खबरदारी गर्न आह्वान गरेका छन्।
“न्यायका नाममा पीडितमाथि मात्र होइन, अन्यलाई पनि अन्याय भइरहेको देखेर बोल्न बाध्य भएँ,” पहराईले लेखेका छन्, “सरकारले विशेष छानबिन समितिको सिफारिस कार्यान्वयन गर्नुपर्ने हो। तर, केही व्यक्तिलाई मुद्दा थोपर्नेबाहेक केही भएको छैन।”
- उनको भनाइमा सहकारी घोटालाका दोषी उम्काउने र पीडितको आवाजलाई राजनीतिक फाइदाका लागि प्रयोग गर्ने प्रयास भइरहेको छ, जसविरुद्ध सबै मिलेर खबरदारी गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्।









