
कोहलपुर, वैशाख १३
कोहलपुरस्थित शुभलक्ष्मी कलेक्सनमा २०८२ साल वैशाख ७ गते बिहान करिब ७:०० बजे विद्युत् सर्टका कारण भयानक आगलागी भएको थियो। यस दुःखद घटनामा पसलभित्र रहेका सम्पूर्ण कपडा, फर्निचर तथा नगद पूर्णरूपमा नष्ट भई ठूलो क्षति भएको पुष्टि भएको छ।
यस विषम परिस्थितिमा, पीडित व्यवसायीलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यले कोहलपुर उद्योग वाणिज्य संघले सक्रिय पहल गर्दै उल्लेखनीय सहयोग जुटाएको छ। संघको नेतृत्वमा विभिन्न व्यवसायिक संघ संस्थाहरूको सहकार्यमा राहतस्वरूप रु १,८०,०७५ बराबरको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
सहयोग रकम विवरण अनुसार,
• कोहलपुर उद्योग वाणिज्य संघबाट रु ७२,८५०,
• कोहलपुर जुत्ता चप्पल व्यवसायी संघबाट रु ६५,७२५,
• बाँके सुनचाँदी तथा गहना व्यवसायी संघबाट रु २६,५००,
• र इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघबाट रु १५,००० प्रदान गरिएको हो।
अत्यन्तै छोटो समयमा पीडित व्यवसायीको राहतका लागि जुटाइएको यस सहयोगले समुदायमा आपसी सहकार्य र द्रुत प्रतिकार्य क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
शुभलक्ष्मी कलेक्सनका सञ्चालक मेघराज लम्सालले कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री प्रदीप भट्टाराई, महासचिव श्री दीपक बहादुर भण्डारी तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै, बस्तुगत संघहरूका अध्यक्षहरू—इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ बाँकेका गोविन्द भण्डारी, कोहलपुर जुत्ता चप्पल व्यवसायी संघका पुण्य तिवारी र बाँके सुनचाँदी तथा गहना व्यवसायी संघका भविन्द्र रामदामलगायत सम्पूर्ण टिमप्रति गहिरो आभार प्रकट गरेका छन्।
लम्सालले यस्तो कठिन घडीमा प्राप्त सहयोगले आफूलाई पुनः आत्मबल प्रदान गरेको बताउँदै, आगामी दिनमा अझ सबल रूपमा व्यवसाय पुनर्निर्माण गर्ने दृढ संकल्प व्यक्त गरेका छन्।
यस सहयोग अभियानले कोहलपुर क्षेत्रमा व्यवसायी समुदायबीचको ऐक्यबद्धता, आपसी सद्भाव र मानवताको गहिरो उदाहरण प्रस्तुत गरेको छ। यस्ता पहलहरूले भविष्यमा यस्ता दुर्घटनाबाट बच्न र आपतकालीन अवस्थामा सहकार्यको संस्कृति विकास गर्न थप योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।









