
१६ कार्तिक,
सवारी चालक अनुमतिपत्रको अनलाइन फारम फेरी बन्द भएको छ ।
सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको यातायात व्यवस्थापन विभागले जनाएको छ ।
कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको र आज मंगलबार पुन बन्द भएको हो ।
सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो । जतिसक्दो चाँडो त्यसको समस्या समाधान गरेर सेवा चालू गर्न खोजिएको उहाँले बताउनुभयो ।
एकै पटक धेरै सेवाग्राहीले आवेदन भर्न खोजेकाले समस्या देखिएको हुनसक्ने अनुमान गरिएको छ ।
कोभिडका कारण झण्डै डेढवर्ष पहिलेदेखि अनुमतिपत्रको परीक्षा नियमित भइरहेको छैन । विसं २०७६ चैतदेखि सरकारले जारी गरेको बन्दाबन्दीका कारण परीक्षा स्थगित गरिएकामा झण्डै १० महिनापछि अनलाइन फारम खुलाइएको थियो ।





