
२२ बैशाख,
बाँके । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। बालेन साह नेतृत्व सरकारकाे कार्यशैलीलाई लिएर आपत्ति जनाउँदै साम्पाङले सीमा सुरक्षा, सुकुमबासी समस्या र देशको अर्थतन्त्रका विषयमा गम्भीर प्रश्नहरू उठाएका छन् ।
रोचक त के छ भने उनले ‘संसद छलेर चल्ने सरकार ज्यू’ भन्दै पत्रको सम्बोधनमा लेखेका छन् ।
उनले पत्रमा नेपालको लिपुलेक हुँदै भारतले कैलाश-मानसरोवर जाने बाटो बनाइरहँदा सरकार किन मौन बसेको भन्दै उनले प्रश्न गरेका छन्। केवल कूटनीतिक नोट पठाएर झारा टार्ने काम भएको भन्दै उनले नेपाल, भारत, चीन र संयुक्त राष्ट्र संघलाई राखेर चतुर्पक्षीय वार्ता गरी सीमा जोगाउन माग गरे।
‘सुकुमबासी बस्तीमा व्यस्त डोजरहरू रोशी खोला लगायतका ठाउँमा बाढीले भत्काएको बाटो खोल्न र विपद् व्यवस्थापनमा पठाउनु पर्दैन ? भन्दै प्रश्न सोधेका छन् ।
विदेशी ऋण लिएर देश डुबाउने कार्य तुरुन्त रोक्न उनले माग गरेका छन्।
बजेट निर्माण गर्दा सबै क्षेत्रका जनताका समस्यालाई समेट्नुपर्ने र सरकारले के गर्दैछ भन्ने कुरा पत्रकार सम्मेलनमार्फत जनतालाई जानकारी गराउनुपर्ने साम्पाङको भनाइ छ।









