२२ बैशाख,

बाँके — कोहलपुर नगरपालिकाले १० दिनभित्र घरबास खाली गर्न जारी गरेको सूचनाप्रति अव्यवस्थित भूमिहिन तथा सुकुम्बासी समितिले कडा आपत्ति जनाएको छ। समितिका अध्यक्ष जीवन थापा मगरद्वारा जारी ध्यानाकर्षण पत्रमा उक्त सूचनालाई ‘धम्कीपूर्ण’ भन्दै तत्काल पुनर्विचार गर्न माग गरिएको छ।

समितिले नगरपालिकाको निर्णयले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अन्यायमा पारेको दाबी गरेको छ। संविधान तथा प्रचलित कानुनले यस्ता नागरिकको व्यवस्थापनबारे स्पष्ट व्यवस्था गरे पनि व्यवहारमा त्यसको उल्लंघन भएको आरोप लगाइएको छ।

ध्यानाकर्षण पत्रमा नागरिक अधिकारबाट वञ्चित गरिएको, जन्मदर्ता, मृत्युदर्ता तथा बसाइँसराइजस्ता व्यक्तिगत घटना दर्ता नगरिएको, राष्ट्रिय भूमि आयोगको लगत संकलनमा अवरोध गरिएको जस्ता विषय उल्लेख गरिएको छ। साथै अदालतका आदेशको समेत बेवास्ता गरिएको भन्दै स्थानीय सरकारप्रति असन्तुष्टि जनाइएको छ।

समितिले कोहलपुर नगरपालिका–११ अन्तर्गत करिब २८ बिघा क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई बिना विकल्प हटाउने निर्णय गैरजिम्मेवार भएको बताएको छ। “हामी नेपाली नागरिक हौँ, यदि होइनौँ भने हामी कुन देशका हौँ?” भन्ने प्रश्नसमेत उठाइएको छ।

उनीहरूले २० वर्षदेखि बसोबास गर्दै आएको बस्तीलाई वैकल्पिक व्यवस्थापनबिना हटाउन नपाइने स्पष्ट पारेका छन्। उचित व्यवस्थापनसहित समाधान ल्याए स्वागत गर्ने तर बल प्रयोग गरिए आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन्।

समितिले यो समस्या शान्तिनगर क्षेत्र मात्रै नभई बाँके जिल्लाभरकै साझा समस्या भएको उल्लेख गर्दै ‘डोजर आतंक’ बन्द गर्न र नागरिक शासनको प्रत्याभूति गराउन माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख