
२२ बैशाख,
बाँके — प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दै गएको दलगत प्रभाव अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत विचार सार्वजनिक गर्दै उनले विद्यार्थी र कर्मचारी संगठनहरू वर्षौंदेखि दलका “स्लिपर सेल” जस्तो बनेको आरोप लगाए।
उनले योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको मूल्य बढ्दा प्रणालीप्रति जनविश्वास कमजोर भएको उल्लेख गरे। शाहका अनुसार, शिक्षालय र कर्मचारीतन्त्रमा थप दलगत संगठन बनाउँदै जाने प्रवृत्तिले न त शिक्षाको गुणस्तर सुधार हुन्छ, न कर्मचारीको सम्मान जोगिन्छ।
प्रधानमन्त्री शाहले स्पष्ट नीति आवश्यक भएको भन्दै शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलगत प्रभाव निषेध गर्नुपर्ने धारणा राखे। यसले अधिकार नखोस्ने बरु पेशागत स्वतन्त्रता मजबुत बनाउने उनको भनाइ छ।
उनले अब नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, विधि, क्षमता र दक्षतालाई आधार बनाउनुपर्ने बताए। साथै विद्यार्थीले राजनीति सिक्दा गुरुबाट र कर्मचारीले विधि तथा नियमबाट काम गर्नुपर्नेमा जोड दिए।
शाहले यो कुनै दलविरुद्धको कदम नभई प्रणाली सुधार र भविष्य सुरक्षित गर्ने प्रयास भएको स्पष्ट पारे। उनले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गर्न अध्यादेशमार्फत कदम चालिएको जानकारी दिए।
अन्त्यमा उनले सरकार जनचाहनाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताउँदै सबैको साथ र विश्वास आवश्यक रहेको उल्लेख गरेका छन्।








