५–७ वटा लालपुर्जा बाँडेर स्यालहुइयाँ मच्चाउनु आवश्यक छैन : मेयर आचार्य

१० मंसिर,

कोहलपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोहलपुर नगर समितिले भूमिहीन नागरिकको समस्या समाधान गर्न माग गर्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएपछि मेयर आचार्यले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्।

रास्वपा नगर समितिले भूमिसम्बन्धी आयोगको सिफारिस यथाशीघ्र जिल्ला भूमि आयोगमा पठाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको थियो। त्यसपछि मेयर आचार्यले आफ्नो धारणा सार्वजनिक गर्दै राजनीति क्यामेरामा देखिने अनुहार र सामाजिक सञ्जालको प्रचारबाट नभई जनताका बीचमा गरिएका काम र त्यसको परिणामबाट स्थापित हुने बताएका छन्।

उनले रास्वपाका नेताहरूलाई लक्षित गर्दै विभिन्न पार्टीबाट आएका व्यक्तिहरू रवि लामिछाने र बालेन शाह बन्न नसक्ने टिप्पणी गरेका छन्। अरूको आलोचना गर्नुअघि आफ्नो राजनीतिक हैसियत र धरातल बुझ्नुपर्ने उनको भनाइ छ।

आचार्यले रास्वपाका सदस्य बन्नुभन्दा अगाडिदेखि नै कोहलपुर नगरपालिकाले भूमिसम्बन्धी समस्या समाधानका लागि उल्लेखनीय काम अघि बढाएको दाबी गरेका छन्। कामको मूल्याङ्कन फेसबुकका स्टाटसबाट नभई तथ्य र परिणामका आधारमा हुनुपर्ने उनले उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जालमा स्टन्ट गर्नुभन्दा जनताको पक्षमा काम गरेर देखाउन चुनौतीसमेत दिएका छन्। भूमिसम्बन्धी समस्या हजारौँ नागरिकको जीवन र भविष्यसँग जोडिएको गम्भीर विषय भएकाले केही लालपुर्जा वितरण गर्दैमा सबै समस्या समाधान भएको जसरी प्रचार गर्न नहुने उनको तर्क छ।

‘हामी काम गरिरहेका छौँ, परिणाम दिएर जवाफ दिनेछौँ,’ भन्दै आचार्यले भूमिसम्बन्धी समस्या प्रचारको विषय नभई जिम्मेवारीपूर्वक समाधान गर्नुपर्ने विषय भएको बताएका छन्।

मेयर आचार्यको यो अभिव्यक्तिलाई रास्वपा नगर समितिले बुझाएको ध्यानाकर्षण पत्रप्रतिको राजनीतिक प्रतिक्रियाका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares