राष्ट्रिय परिचयपत्रको डाटा क्षमता सकिएपछि सरकारी सेवा प्रभावित, लाइसेन्सदेखि राहदानीसम्म असर

नेपालगन्ज । गत साउन १ गतेदेखि नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण हुन नसकेको विषयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा देखिएको समस्या मुख्य कारणका रूपमा देखिएको छ।

सवारी चालक अनुमतिपत्र नवीकरण वा प्रतिलिपि लिनसमेत राजस्व भुक्तानीका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने व्यवस्था रहेकाले विभागको प्रणालीमा आएको समस्याले यातायात कार्यालयका सेवा प्रभावित भएका छन्।

असार १७ गतेदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सर्भरमा समस्या देखिएपछि यातायातसँगै सामाजिक सुरक्षा, राहदानी, अध्यागमन, स्वास्थ्य बीमा, बैंकिङलगायत विभिन्न सरकारी सेवामा समेत असर परेको बताइएको छ।

खास समस्या के हो ?

सरकारले फ्रान्सेली कम्पनी IDEMIA बाट राष्ट्रिय परिचयपत्रसम्बन्धी प्रणाली खरिद गरेको थियो। उक्त प्रणालीमा करिब २ करोड व्यक्तिको डेटा भण्डारण गर्न सकिने क्षमता रहेको बताइएको छ।

तर, शुक्रबारसम्म प्रणालीमा २ करोड १ लाख ७० हजारभन्दा बढी तथ्यांक प्रविष्ट भइसकेपछि प्रणालीको डाटा भण्डारण क्षमता सकिएको बताइएको छ।

यसका कारण राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय वा विभागमा पुग्ने सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरे पनि विभागबाट गर्नुपर्ने डेटा प्रमाणीकरण प्रक्रिया प्रभावित भएको छ।

राष्ट्रिय परिचयपत्रको प्रमाणीकरण आवश्यक पर्ने सरकारी सेवामा यसको प्रत्यक्ष असर परेको हो।

१३ भन्दा बढी सरकारी सेवामा असर

राष्ट्रिय परिचयपत्रको प्रमाणीकरणसँग जोडिएका यातायात, सामाजिक सुरक्षा, राहदानी, अध्यागमन, स्वास्थ्य बीमा बोर्ड, बैंकलगायत विभिन्न सरकारी निकायका सेवामा समस्या देखिएको बताइएको छ।

सम्बन्धित कार्यालयहरूले समस्या समाधानका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई पत्राचारसमेत गरेका थिए। विभागले गत साउन ७ गते सम्बन्धित कार्यालयहरूलाई आवश्यक सहयोग गर्न आग्रह गर्दै जवाफ पठाएको बताइएको छ।

विभागले भने सेवा पूर्ण रूपमा बन्द नभएको र सेवाग्राहीलाई सेवा उपलब्ध गराउने प्रयास भइरहेको दाबी गरेको छ।

क्षमता सकिन लागेको जानकारी हुँदाहुँदै किन भएन तयारी ?

विभागको प्रणालीको डाटा भण्डारण क्षमता सकिन लागेको विषयमा पहिले नै जानकारी हुँदाहुँदै पनि समयमै प्रणाली अपग्रेड वा थप क्षमता व्यवस्थापनका लागि आवश्यक कदम नचालिएको प्रश्नसमेत उठेको छ।

क्षमता सकिएपछि मात्रै थप १ करोड व्यक्तिको डेटा सुरक्षित गर्न सकिने प्रणाली खरिद प्रक्रिया अघि बढाइएको बताइएको छ।

विभागले आगामी सोमबारदेखि समस्या समाधान हुने दाबी गरेको छ। तर, सेवा प्रभावित हुँदा दैनिक सरकारी कार्यालय धाइरहेका हजारौँ सेवाग्राही भने अन्योल र सास्तीमा परेका छन्।

समयमै प्रणालीको क्षमता विस्तार नगर्दा अहिले सेवाग्राहीले दुःख पाउनुपर्ने अवस्था किन आयो ? सम्बन्धित निकायले यसको जवाफ दिनुपर्ने देखिन्छ।

BankeUpdate.com
तथ्यमा आधारित स्थानीय तथा राष्ट्रिय समाचारका लागि हामीसँग जोडिनुहोस्।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares