२१ बैशाख,

बाँके । यौन व्यवसायसँग जोडिएको विषयमा निर्माण गरिएको चलचित्र लालीबजार विरुद्ध बाँके जिल्लाका वादी समुदायका अगुवा, नेतृत्वकर्ता तथा सामाजिक अभियन्ताहरूले कडा आपत्ति जनाएका छन्। आइतबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले उक्त चलचित्र पूर्ण रूपमा बन्द गर्नुपर्ने माग गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय वादी सञ्जाल नेपालका केन्द्रीय अध्यक्ष केशव नेपालीले चलचित्रले वादी समुदाय तथा महिलाको इज्जतमाथि गम्भीर आघात पुर्‍याएको आरोप लगाए। उनले चलचित्रले कानुनविपरीत काम गरेको, साथै कुनै समुदायलाई सामाजिक, मानसिक तथा शारीरिक रूपमा अपमान गरेको दाबी गरे।

उनले निर्माता तथा निर्देशकलाई तत्काल माफी मागेर चलचित्र प्रदर्शन बन्द गर्न आग्रह गर्दै अन्यथा कानुनी कारबाहीसहित आन्दोलनमा उत्रिने चेतावनी दिए।

यसैबीच, वादी समुदायका अगुवाहरूले चलचित्र लालीबजार को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन्।

लुम्बिनी प्रदेश सभा सदस्य शुशिला वादीले पनि चलचित्रमाथि पूर्ण प्रतिबन्ध लगाउनुपर्ने र संलग्न कलाकारहरूलाई कारबाही गर्नुपर्ने बताइन्। उनले चलचित्रले वादी समुदायको कला, संस्कृति, पहिचान, इतिहास र संघर्षमाथि प्रहार गर्दै चरित्र हत्या गरेको आरोप लगाइन्।

कार्यक्रममा सहभागीहरूले चलचित्र हल सञ्चालक तथा दर्शकहरूलाई समेत लालीबजार बहिष्कार गर्न अपिल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख