
२० बैशाख,
काठमाडौं — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूमिहीन र सुकुम्बासी नागरिकलाई कुनै पनि हालतमा घरबारविहीन नबनाइने स्पष्ट पारेको छ।
आइतबार बसेको सचिवालय बैठकपछि बनस्थलीस्थित केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले सरकारले हाल बाढी र पहिरोको जोखिममा रहेका बस्तीको मात्र व्यवस्थापन गरिरहेको दाबी गरे। उनले देशभरका सुकुम्बासी र भूमिहीन नागरिक आतंकित हुनुपर्ने अवस्था नरहेको बताए।
उनका अनुसार जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा सार्ने उद्देश्यले मात्र हालको कदम चालिएको हो। “बाढी र पहिरोको जोखिममा रहेका स्थानबाट सुकुम्बासीलाई बाहिर निकाल्ने प्रयास हो,” उनले भने।
लामिछानेले विगतमा सुकुम्बासी व्यवस्थापनका लागि करिब ३० पटक प्रयास भए पनि दीर्घकालीन समाधान हुन नसकेको उल्लेख गर्दै अहिलेको सरकार व्यवस्थित समाधानतर्फ अघि बढिरहेको बताए। “हामी सुकुम्बासीको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध छौं। कसैलाई घरबारविहीन बनाइँदैन, बरु घर उपलब्ध गराइन्छ,” उनले जोड दिए।
उनले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने र स्थायी बसोबासको व्यवस्था गर्ने योजना रहेको जानकारी दिए। व्यवस्थापनका क्रममा केही प्रक्रियागत त्रुटि भएको स्वीकार गर्दै त्यसलाई छिट्टै सुधार गरिने पनि उनले बताए।
सडक विस्तार तथा अन्य विकास कार्यका क्रममा स्थानीय तहलाई नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्दै काम गर्न निर्देशन दिइएको उनले उल्लेख गरे। साथै, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई पहिलेदेखि नै सचेत गराइएको र सूचना पनि दिइएको बताए।
लामिछानेले केही पक्षले अनावश्यक रूपमा सुकुम्बासीलाई आतंकित पार्ने प्रयास गरिरहेको आरोप लगाउँदै केन्द्र सरकार नागरिकको भविष्य सुरक्षित गर्न प्रतिबद्ध रहेको दोहोर्याए।








