
२० बैशाख,
बाँके – नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैजनाथ गाउँपालिका कमिटी, बाँकेले नौबस्ता औद्योगिक क्षेत्रभित्र रहेका अव्यवस्थित बस्ती तथा भौतिक संरचना हटाउने सूचनाप्रति गम्भीर आपत्ति जनाएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बालाजुले मिति बैशाख गते जारी गरेको पत्रअनुसार नौबस्ता औद्योगिक क्षेत्रभित्र बसोबास गर्दै आएका बस्ती हटाउने तयारी भएपछि एमालेले ध्यानाकर्षण भएको जनाएको हो।
पार्टीका अध्यक्ष मनबहादुर खत्रीद्वारा जारी प्रेस विज्ञप्तिमा औद्योगिक क्षेत्र स्थापना हुनु अघि देखि बसोबास गर्दै आएका घरपरिवारको उचित व्यवस्थापन नगरी बस्ती हटाउनु अस्वीकार्य हुने उल्लेख गरिएको छ। विज्ञप्तिमा विगतमा नेपाल सरकारसँग भएका सर्वदलीय तथा सर्वपक्षीय सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।
एमाले बैजनाथले बस्ती हटाउनेभन्दा पहिले प्रभावित परिवारको उचित व्यवस्थापन गर्न माग गर्दै अन्यथा बल प्रयोग गरी बस्ती हटाउने प्रयास गरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने चेतावनी दिएको छ।









