जुम्ला, चैत ७ — कनकासुन्दरी गाउँपालिका–४ अन्तर्गत साउबाडा गाउँ निवासी महेसरा सुनारको धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भई उपचारका क्रममा निधन भएको छ।

स्थानीय कृष्ण विक्रम सुनारकी आमा समेत रहनुभएकी महेसरा सुनारलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा फेला पारिएको थियो। घाइते अवस्थामै उनलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनाप्रति स्थानीयवासी तथा सरोकारवालाहरूले गहिरो दुःख व्यक्त गर्दै घटनाको शीघ्र, निष्पक्ष र प्रभावकारी अनुसन्धानको माग गरेका छन्। दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न पनि सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

यस घटनापछि जुम्ला जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ भने प्रहरीले व्यापक रूपमा परिचालन गरी अनुसन्धान तीव्र बनाएको जनाएको छ। घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।

यस दुःखद घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख