
४ बैशाख,
सुर्ख़ेत । मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागमा सीएसआईटी र बीआइटी अध्ययनरत विद्यार्थीहरूद्वारा निर्माण गरिएको ‘यू-नेट एप्लिकेशन’ सार्वजनिक गरिएको छ।
कम्प्युटर विज्ञान तथा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरूले सिकाइलाई व्यवहारिक रूपमा लागू गर्ने तथा अध्ययनका क्रममा भोगेका कठिनाइहरूको समाधान गर्ने उद्देश्यका साथ उक्त परियोजना सुरु गरेका थिए भने मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत बिजनेस इन्कुवेशन केन्द्र मार्फत उक्त परियोजना छनोट भई ‘सीड फन्ड’ अन्तर्गत आर्थिक सहयोग समेत प्राप्त गरेको थियो।
उक्त एप्लिकेशनमा विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक र अध्ययनरत विद्यार्थीहरूबीच सामाजिक सञ्जालजस्तै नेटवर्किङ स्थापना गर्ने, विभिन्न शैक्षिक सामग्री आदान–प्रदान गर्ने, आवश्यक सूचना प्राप्त गर्ने, असाइनमेन्ट तथा ग्रेडिङसम्बन्धी सुविधा प्रदान गर्ने लगायतका विशेषता सहित विद्यार्थी–प्राध्यापकहरूबीच सञ्जाल विस्तार गर्ने सुविधा समेत रहेको परियोजना प्रमुख तथा बी.एस्सी. सीएसआईटी सातौँ सेमेस्टरका विद्यार्थी भिजन शाहीले प्रस्तुतीमार्फत जानकारी दिएका थिए। त्यसै गरी एप्लिकेशनका विस्तृत फिचर बारे डेमो लगायत अन्य जानकारी बीआइटी अध्ययनरत विद्यार्थी गौरव अधिकारीले प्रदान गरेका थिए ।
सीएसआईटीका विद्यार्थी अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आर एण्ड डी सेन्टर तथा बिजनेस इन्कुवेशन केन्द्रका कार्यकारी निर्देशक डा. पुष्पराज आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा उप-प्राध्यापकत्रय नरेन्द्र प्रकाश सावद, माधव ढकाल तथा धर्मराज पौडेल र स्ववियु सदस्य विकास थापाले मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य उप-प्रा. युवराज पौडेलले व्यक्त गर्नुभएको थियो ।
वीरेन्द्रनगर, सुर्खेतस्थित ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीको सेमिनार हलमा विभागीय प्रमुख, संयोजक, प्राध्यापक, कर्मचारी लगायत विभिन्न कार्यक्रम अन्तर्गत अध्ययनरत विद्यार्थीहरू सहितको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमको संचालन सीएसआईटी अध्ययनरत विद्यार्थी मदन थापाले गरेका थिए । विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरुलाई लक्षित गरी तयार गरिएको सो एप्लिकेशनमा https://unet.it.com/ लिंक मार्फत लगइन गरी आफ्नो प्रोफाइल निर्माण गर्न सकिनेछ।









