
४ वैशाख,
काठमाडौँ : सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक नर्सहरुले पनि हप्तामा दुई दिन बिदा दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै शनिबार र आइतबार ओपीडी सेवा बन्द गर्ने र स्वास्थ्यकर्मीहरूलाई बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
यसअघि मन्त्रालयले अस्पतालमा २ दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै अस्पतालहरूलाई आइतबार पनि ओपीडी खुला गर्न आग्रह गरेको थियो। तर चिकित्सक संघ लगायतका स्वास्थ्यकर्मीले आफूहरूलाई पनि आइतबार बिदा दिनु पर्ने माग गर्दै आएका थिए।
स्वास्थ्यकर्मीको हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, स्वास्थ्य संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयको भनाइ छ। यद्यपि आकस्मिक र अन्तरंग सेवाहरू भने २४ सै घण्टा सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहजरूपमा रेफर गर्न र एम्बुलेन्सहरू हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ।’
आइतबारका लागि मिति तोकिएका शल्यक्रिया तथा अन्य प्रक्रियाको व्यवस्थापन मिलाउन अस्पतालहरूलाई निर्देशन दिइएको छ।
अस्पतालमा दुई दिन ओपीडी बन्द हुने भएपछि सरकारले आकस्मिक सेवाको क्षमता भने थप बढाएर अगाडि लैजाने तयारी गरेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्यमन्त्री निशा मेहता, सचिव डा. विकास देवकोटा र १४ वटा पेशागत संगठनका प्रतिनिधिहरूबीच मन्त्रालयमा भएको छलफलपछि सरकारले स्वास्थ्यकर्मीहरूलाई पनि आइतबार बिदा दिने निर्णय गरेको हो।









