
दैलेख, फागुन ११ – दैलेखको नारायण नगरपालिका वडा नं. ६ मा आइतबार अन्तरपुस्ते संवाद कार्यक्रम सम्पन्न भएको छ। आवाज संस्थाको आयोजना तथा युरोपेली संघको आर्थिक सहयोगमा संयुक्त राष्ट्र संघीय निकायहरू UNICEF, UNFPA, UNWOMEN, ILO को संयुक्त अभियानअन्तर्गत सञ्चालन भइरहेको “शसक्त महिला, समृद्ध नेपाल” कार्यक्रमको हिस्साका रूपमा उक्त संवाद कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम वडा नं. ६ का वडा सदस्य श्री कृष्ण प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। ५६ जना भन्दा बढी किशोर र वयस्क पुरुषहरूको सहभागिता रहेको उक्त कार्यक्रममा “सकारात्मक लैंगिक मापदण्डको प्रवर्द्धन, लैंगिक हिंसा रोकथाम, र सेवाहरूमा पहुँच अभिवृद्धि” परियोजनाका विविध पक्षहरूबारे गहन छलफल गरियो।
लैंगिक समानताका लागि संवादको महत्व
कार्यक्रमका प्रमुख वक्ता वडा सदस्य कृष्ण प्रसाद सुवेदीले समाजमा व्याप्त परम्परागत सोच हटाउनु आवश्यक रहेको बताउँदै महिलालाई घरायसी काममा मात्र सीमित गर्ने तथा पुरुषलाई बाहिरी काममा केन्द्रित गराउने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले भने, “महिलाले मात्र सन्तान हुर्काउने होइन, बाबुको पनि उत्तिकै भूमिका हुनुपर्छ। पारिवारिक जिम्मेवारी बाँडफाँड हुँदा मात्र सन्तुलित समाज निर्माण सम्भव छ।”
अन्य वक्ताहरूले पनि नेपालमा विद्यमान लैंगिक असमानताको चर्चा गर्दै महिलामाथि लगाइएका सामाजिक तथा सांस्कृतिक बन्धन हटाउन आवश्यक रहेको औंल्याए। घरेलु हिंसा न्यूनीकरणका लागि महिलालाई स्वतन्त्रतापूर्वक निर्णय लिन दिनुपर्ने र घरपरिवारमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइयो।
नेपालको संविधानले सबै नागरिकलाई समानता र स्वतन्त्रताको हक प्रदान गरेको उल्लेख गर्दै प्रशिक्षक कर्ण बहादुर खत्रीले भने, “पुरुषहरूले पनि घरायसी जिम्मेवारी बाँड्ने संस्कार विकास गरे मात्र लैंगिक समानता स्थापित हुनेछ।”
कार्यक्रमका प्रमुख उद्देश्यहरू
✅ विषद् पुरुषत्व (Toxic Masculinity) का प्रभावबारे सहभागिहरूलाई जानकारी गराउने।
✅ लैंगिक विभाजनका कारणहरूबारे छलफल गर्ने।
✅ समाजले परिभाषित गरेको पुरुषत्वका मापदण्डबारे विवेचना गर्ने।
✅ विषद् पुरुषत्वको अवधारणालाई चुनौती दिने उपायहरू खोज्ने।
सकारात्मक सामाजिक परिवर्तनको पहल
आयोजक संस्थाका अनुसार संवाद कार्यक्रमले सहभागिहरूलाई लैंगिक असमानताका मुद्दाहरूमा खुलेर छलफल गर्ने अवसर प्रदान गरेको छ। साथै, यसले सामाजिक सोचमा सकारात्मक परिवर्तन ल्याउने महत्त्वपूर्ण भूमिका खेलेको छ। प्रशिक्षक खत्रीका अनुसार संवादकै माध्यमबाट किशोर तथा वयस्क पुरुषलाई लैंगिक समानता, पारिवारिक जिम्मेवारी बाँडफाँड, तथा हानिकारक लैंगिक मापदण्डहरूविरुद्ध सचेत गराउन सकिन्छ।
“समाजमा समानता स्थापित गर्न सबै पक्षले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ,” प्रशिक्षक खत्रीले भने। स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता आयोजक संस्थाले बाँके अपडेट मिडियालाई जानकारी दिएको छ। ।