
बाँसगढी, बर्दिया – शिक्षक नियुक्ति प्रक्रियामा देखिएको अनियमितता र बेथितीप्रति राष्ट्रिय युवा संघ नेपाल, बाँसगढी नगर कमिटीले कडा आपत्ति जनाएको छ। संघले विद्यालयजस्तो संवेदनशील संस्थामा निष्पक्षता र पारदर्शिताको अभाव गम्भीर विषय भएको भन्दै दोषीमाथि तत्काल कारबाही गर्न माग गरेको छ।
संघका पदाधिकारीहरूले शिक्षक नियुक्ति प्रक्रियामा विज्ञापन मिति र सरुवा मितिबीचको भिन्नता, अपारदर्शी छनोट प्रक्रिया, र राजनीतिक पहुँचका आधारमा नियुक्ति दिइएको जनगुनासोलाई गम्भीरतापूर्वक लिएको बताएका छन्। राष्ट्रिय युवा संघ बाँसगढी नगर कमिटीका अध्यक्ष निशान चन्दले यो विषयमा उच्च तहको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेका छन्।
राष्ट्रिय युवा संघ नेपालले लामो समयदेखि भ्रष्टाचार, अन्याय, र बेथितीविरुद्ध संघर्ष गर्दै आएको स्मरण गराउँदै, शिक्षक नियुक्तिमा देखिएको अनियमितता समाजको शैक्षिक विकासका लागि घातक हुने चेतावनी दिएको छ।
संघले सम्बद्ध निकायहरूलाई तुरुन्त सत्यतथ्य सार्वजनिक गर्न र अनियमिततामा संलग्नलाई कानुनी कारबाही गर्न दबाब दिने स्पष्ट पारेको छ। यदि निष्पक्ष छानबिन नभए सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत संघले दिएको छ।