नेपालगंज भन्सार कार्यालय जाँच पास शाखा जहाँ देशको ठूलो व्यापारिक चहलपहल हुन्छ, त्यहाँको चर्पि अवस्था हेर्दा राज्य प्रणाली र व्यवस्थापन प्रति गम्भिर प्रश्न खडा भएको छ। सेवाग्राहीहरुका अनुसार कार्यालयको चर्पि यति फोहर छ कि त्यहाँ प्रवेश गर्दा दुर्गन्धले नाक थुन्नुपर्ने चर्पिमा बस्न नै नसक्ने स्थिति सिर्जना हुन्छ। यो समस्या दिनानुदिन गम्भीर बन्दै गए पनि सरोकारवाला निकायको ध्यानाकर्षण भने हुन सकेको छैन।
नेपालगंज भन्सार कार्यालयमा दैनिक सयौं मानिसहरु आफ्नो कामका लागि आउने गर्दछन । कामको प्रकृतिले गर्दा उनीहरुलाई लामो समय कार्यालयमा कुर्नुपर्छ। तर, त्यहाँको चर्पि व्यवस्था अत्यन्तै खराब छ। “चर्पि जाँदा दुर्गन्धको कारण धेरै समय टिक्नै सकिँदैन। पानी छैन, सरसफाइ छैन, फोहोर भने चर्पिमा थुप्रिएको छ,” साथै महिलाहरु र वृद्ध सेवाग्राहीको लागि यो अवस्था झन् कष्टप्रद छ।
“महिलाहरुका लागि अलग चर्पिको व्यवस्था त छ तर सफाइको अवस्था हेर्दा चर्पि प्रयोग गर्नु झन् असम्भव छ,”यस्तो फोहर चर्पिको अवस्थाले सेवाग्राहीहरुको स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्दैछ।
नियमित सरसफाइको अभावमा जीवाणु संक्रमण र अन्य स्वास्थ्य समस्याको जोखिम बढेको छ। “यस्तो चर्पि कार्यालयमा हुनु भनेको हाम्रा अधिकारमाथि आघात हो।
सरसफाइ भनेको सामान्य मानवीय आवश्यकता हो, तर यहाँ त सम्मान पनि हरण भइरहेको छ,”
भन्सार कार्यालय प्रशासनले यो गम्भीर समस्यालाई वेवास्ता गरिरहेको सेवाग्राहीहरुको आरोप छ।
स्थानीय तह र सरसफाइमा संलग्न निकायहरुसँग समन्वय गरेर चर्पिको व्यवस्थापनमा सुधार ल्याउनुपर्ने स्पष्ट देखिन्छ। फोहर व्यवस्थापनका लागि योग्य जनशक्ति र उपकरणको व्यवस्था, नियमित पानी आपूर्ति, र महिलाहरुका लागि सुरक्षित तथा सफा चर्पिको आवश्यकता तत्काल पूरा गर्नुपर्ने सेवाग्राहीहरुको माग छ।
नेपालगंज भन्सार कार्यालयजस्तो महत्त्वपूर्ण स्थानमा यस्तो अवस्था हुनु लज्जास्पद हो। राज्यका उच्च अधिकारीहरुले यस समस्याप्रति ध्यान दिनु जरुरी छ। अन्यथा, यसले सेवाग्राहीहरुको विश्वास गुमाउनुका साथै कार्यालयको कार्यक्षमतामा समेत गम्भीर असर पार्न सक्छ।
प्रशासनले समयमै कदम नचाले समस्याले अझै ठूलो रूप लिन सक्ने संकेत देखिएको छ। यो मात्र भन्सार कार्यालयको समस्या होइन, यो राज्यप्रणालीको कमजोरीको ऐना हो।









