
२३ बैशाख,
बाँके — ब्रतबन्ध कार्यक्रममा सहभागी युवाहरूबीच सामान्य विवाद चर्किँदा भएको आक्रमणमा एक युवकको मृत्यु भएको छ भने घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दीपक पातलीका अनुसार वैशाख २१ गते बेलुका नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरका २१ वर्षीय प्रितम अधिकारीको ब्रतबन्ध कार्यक्रममा आएका साथीहरू राति बस्ने क्रममा नजिकै आफन्त दिपेन्द्र रोकायको घरमा एउटै कोठामा बसेका थिए।
सोही क्रममा वैशाख २२ गते बिहान करिब २:०० बजे दिपेन्द्र राज गिरी र विशाल चन्द ठकुरीबीच सामान्य विषयमा विवाद भएको थियो। विवादपछि दिपेन्द्र गिरीले कैलालीको लम्कीचुहा नगरपालिका स्थित आफ्ना साथीहरूलाई फोन गरी नेपालगञ्ज बोलाएका थिए।
बिहान करिब ५:०० बजे आइपुगेका उनीहरू समूह बनाएर सुतेका व्यक्तिहरूमाथि बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। आक्रमणबाट घाइते भएका विशाल चन्द ठकुरी भाग्ने क्रममा करिब १०० मिटर लखेटिएर पुनः आक्रमणमा परेका थिए।
गम्भीर घाइते ठकुरीलाई उपचारका लागि संजीवनी कलेज अफ मेडिकल साइन्सेजमा लगिएकोमा बिहान करिब ६:०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका जुम्लाको चन्दननाथ नगरपालिका–४ बस्ने २० वर्षीय योगेन्द्र कामी उपचारपछि डिस्चार्ज भएका छन्।
प्रहरीले घटनामा संलग्न ६ जनामध्ये चार जनालाई बर्दियाको ठाकुरबाबा नगरपालिका–२ अम्रेनी नजिकबाट र दुई जनालाई नेपालगञ्जबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा कैलाली लम्कीचुहा–१ का १९ वर्षीय दिपेन्द्र राज गिरी, २० वर्षीय बिबियस कुँवर, १८ वर्षीय सुशिल खत्री, २० वर्षीय खकेन्द्र देवकोटा, कालिकोट पचालझरना गाउँपालिका–६ का १८ वर्षीय सन्तोष संज्याल र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का २० वर्षीय रुपेश थापा रहेका छन्।
घटनास्थलबाट प्रहरीले एक थान चक्कु, सु.प.प्र.०१–०१४ प १२५६ नम्बरको एनएस २०० मोटरसाइकल तथा बियरका बोतल र फुटेका टुक्राहरू बरामद गरेको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।








