
२ मंसिर,
काठमाडौं । काठमाडौंमा नक्कली नोटसहित ५ जना पक्राउ परेका छन ।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका वडा नं।११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं।८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप सिरुवारी गाउँपालिका वडा नं।२ का २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नं।२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।
उनीहरुको साथबाट सक्कलीजस्तो देखिने नक्कली नोट रु ६५ हजार ३३५, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैँची एक थान प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार, गोकर्णेश्वर नगरपालिका वडा नं।७ दक्षिणढोकामा नक्कली पैसा लिएर सामान खरिद गर्दै हिँडिरहेको अवस्थामा गोमा श्रेष्ठलाई शङ्कास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा नक्कली नोटसहित पक्राउ गरिएको र थप अनुसान्धनबाट ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।





