
२१ बैशाख,
बाँके — बाँकेको कोहलपुरमा जारी चौँथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा जस्ट जोन एफसी (नाइजेरिया) विजयी भएको छ। प्रतियोगिताको दोस्रो खेलमा जस्ट जोन एफसीले रोयल फुटबल क्लब (कर्णाली) लाई ४–२ गोल अन्तरले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको हो।
वैशाख १९ गतेबाट सुरु भएको प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेल वैशाख २० गते कोहलपुर–२ स्थित कोहलपुर फुटबल रंगशालामा सुरु भएको थियो। तर खराब मौसमका कारण खेल ३७औँ मिनेटमै स्थगित हुन पुगेको थियो। त्यसबेला जस्ट जोन एफसी १–० ले अग्रता लिइरहेको थियो, जहाँ २९औँ मिनेटमा हम्जात डिमोलाले गोल गरेका थिए।
स्थगित खेल वैशाख २१ गते बिहान पुनः सुरु भएको थियो। दोस्रो हाफमा जस्ट जोन एफसीका अब्दुल्लाजीजले ४७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसको दुई मिनेटपछि रोयल फुटबल क्लबका सन्दिप देउवाले गोल फर्काउँदै खेल २–१ मा ल्याए। तर ५२औँ मिनेटमा ओवालाही अफिजले जस्ट जोन एफसीका लागि तेस्रो गोल थपे।
५५औँ मिनेटमा विक्रम ओलीले गोल गर्दै कर्णाली टोलीलाई पुनः खेलमा फर्काउने प्रयास गरे पनि अन्तिम समयमा ९०औँ मिनेटमा ताजुदिन एडीले गोल गर्दै जस्ट जोन एफसीको जित सुनिश्चित गरे।
उत्कृष्ट प्रदर्शन गर्दै पहिलो गोलकर्ता हम्जात डिमोला ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। उक्त पुरस्कार लुम्बिनी खेलकुद परिषद्का सदस्य जनक केसी, कोहलपुर डेन्टल हस्पिटलका प्रबन्धक गजेन्द्र शाही र अतिथि सत्कार संयोजक प्रकाश खड्काले संयुक्त रूपमा प्रदान गरेका थिए।








