१७ बैशाख,

बाँके — कोहलपुर नगरपालिकाले सुकुम्वासी बस्ती खाली गर्न जारी गरेको सूचनाप्रति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोहलपुर नगर समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।

समितिले एक विज्ञप्ति जारी गर्दै स्थानीय सरकारले सुकुम्वासी परिवारलाई स्थायी बसोबास र जीविकोपार्जनको उचित विकल्प उपलब्ध नगराई जबरजस्ती उठिबास लगाउने तथा झुप्रा भत्काउने कार्यप्रति कडा असहमति व्यक्त गरेको छ।

विज्ञप्तिमा यस्तो कदमलाई “अमानवीय” भन्दै यसले भूमिहीन सुकुम्वासी तथा भूमिहीन दलित परिवारहरूलाई बिचल्ली पार्नुका साथै सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर बन्ने खतरा औंल्याइएको छ।

नेकपाले सार्वजनिक जग्गाको अतिक्रमण हटाउनु अघि त्यहाँ बसोबास गरिरहेका भूमिहीन सुकुम्वासी र दलित समुदायको समुचित पुनर्वास सुनिश्चित गर्न माग गरेको छ। पुनर्वासको व्यवस्था नगरी बस्ती हटाउने कार्य नगर्न सरकारसमक्ष जोडदार आग्रह गरिएको छ।

यसैगरी, पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, सहिष्णु र जिम्मेवार बन्न आग्रह गर्दै सुकुम्वासी, किसान, मजदूर तथा उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

“लोकतन्त्रको सुदृढीकरण जनताको घरबास उजाडेर सम्भव हुँदैन,” विज्ञप्तिमा भनिएको छ, “बरु सीमान्तकृत समुदायका अधिकार सुदृढ गर्दै सामाजिक न्याय र समृद्धि हासिल गर्नु नै सही मार्ग हो।”

उक्त विज्ञप्ति नेकपा कोहलपुर नगर समिति, बाँकेका अध्यक्ष बल बहादुर खड्काद्वारा जारी गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित ख