
१७ बैशाख,
बाँके — पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरेर गरिब तथा निमुखा नागरिकलाई आहत पुर्याउने काम भएको बताएका छन्।
बिहीबार रुकुम पश्चिममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वास्तविक सुकुम्बासीको पहिचान नगरी बल प्रयोगका आधारमा बस्ती हटाउनु गलत भएको उल्लेख गरे। “को वास्तविक सुकुम्बासी हो र को होइन भन्ने निर्क्यौल नगरी डोजर चलाउनु गलत हो,” उनले भने।
उनले सरकारले सुकुम्बासीहरूका लागि वैकल्पिक व्यवस्था नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो कदमले कमजोर वर्गमाथि अन्याय भएको बताए। काठमाडौँपछि देशभरका सुकुम्बासी बस्ती हटाउने तयारी भइरहेको भन्दै उनले वैकल्पिक व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरे।
त्यसैगरी, उनले सदन स्थगन गरेर अध्यादेश ल्याउने सरकारी कदमप्रति पनि आपत्ति जनाए। उक्त प्रक्रिया लोकतन्त्र, संविधान र स्थापित संसदीय परम्पराविरुद्ध भएको उनको भनाइ थियो।








