
१७ बैशाख,
बाँके । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी मिथ्या र भ्रामक सूचना उत्पादन तथा सामाजिक सञ्जालमार्फत वितरण हुन थालेको प्रति नेपाल प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ।
एआई प्रयोग गरी नेपाल प्रहरीको युनिफर्म, लोगो तथा दर्ज्यानी चिह्न तोडमोड गरी भ्रामक सामाग्री तयार पार्ने र प्रसारण गर्ने क्रम बढेको प्रहरीले जनाएको छ।
यस्ता सामाग्रीले भ्रम र अफवाह फैलाउने सम्भावना रहने भएकाले यसप्रति सजग रहन प्रहरीले अनुरोध गरेको छ।
‘सुरक्षाजस्तो सम्वेदनशील विषयमा आम नागरिकलाई सुसूचित गराउनु साझा जिम्मेवारी भए पनि एआईको दुरुपयोग गरेर संस्थाका प्रतीक चिह्न तथा पोसाकसम्बन्धी गम्भीर विषयलाई तोडमोड गरेर प्रकाशित/प्रसारित हुने ‘कन्टेन्ट’ले समाजमा भ्रम तथा अफवाह फैलाउने सम्भावना रहेको तर्फ सजग हुन कन्टेन्ट क्रिएटरहरुलाई अनुरोध गर्दछौँ’, नेपाल प्रहरीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्टबाट भनेको छ।
भ्रामक सामग्री उत्पादन र प्रसारण गरिए प्रचलित कानुनअनुसार कारबाही हुनेसमेत प्रहरीले चेतावनी दिएको छ।








