
७ बैशाख,
बाँके — जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस वक्तव्यमा मन्त्री पदमा रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने र यसले स्वार्थको द्वन्द्व सिर्जना गर्ने उल्लेख गरिएको छ। वक्तव्यमा आफ्नैविरुद्ध छानबिन हुँदा पनि पदमा कायम रहनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत हुने भन्दै निष्पक्ष न्याय सुनिश्चित गर्न गुरुङको पदत्याग अनिवार्य रहेको जिकिर गरिएको छ।
यस्तै, जेनजी मुभमेन्टले मन्त्री नियुक्ति र बर्खास्तीलाई हल्का रूपमा नलिन सरकारलाई आग्रह गरेको छ। बालेन शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै क्याबिनेटमा कसलाई समावेश गर्ने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक विषय भएकोले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता आवश्यक रहेको बताइएको छ।
वक्तव्यमा ‘यो कुनै साधारण सरकार होइन, ७६ जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो’ भन्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिइएको छ। साथै, सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने पनि स्पष्ट पारिएको छ।
उल्लेखनीय छ, विवादास्पद व्यापारी दीपक भट्टसँग गुरुङको साझेदारी रहेको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्।








