
१८ फागुन,
बाँके । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै लागू हुने मौन अवधि मतदान सम्पन्न नभएसम्म कायम रहनेछ।
मौन अवधि सुरु भएपछि कुनै पनि राजनीतिक दल, उम्मेदवार वा तिनका समर्थकले पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न, भोट माग्न वा मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न पाउने छैनन्। त्यसैले आज दिनभर चुनावी सभा, घरदैलो र अन्तिम प्रचारमा दलहरू व्यस्त देखिएका छन्।
निर्वाचन आचारसंहिताअनुसार प्रचार सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न नहुने तथा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य सञ्चार माध्यममार्फत पक्ष–विपक्षमा सन्देश, सूचना वा सामग्री पोस्ट/सेयर गर्न नपाइने व्यवस्था छ।
मौन अवधि लागू भएपछि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका ब्यानर, पोस्टर, पम्प्लेटलगायत प्रचार सामग्री हटाउन निर्देशन दिनेछ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार मौन अवधिमा कुनै पनि प्रकारका सभा, सम्मेलन, अन्तरक्रिया, गोष्ठी वा कार्यशाला गर्नसमेत निषेध गरिएको छ।
मतदानको समयमा प्रतिस्पर्धीबीच विवाद, झडप वा अप्रिय घटना हुन नदिन तथा मतदातालाई शान्त र भयरहित वातावरणमा मतदान गर्न सुनिश्चित गर्न अन्तर्राष्ट्रिय अभ्यासअनुसार मौन अवधिको व्यवस्था गरिएको हो। यसले उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धा कायम राख्दै मतदातालाई स्वतन्त्र निर्णय लिन सहज वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ।












