
१६ बैशाख,
बाँके । बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इश्तियाक राई ले नेपालगन्जस्थित भेरी अस्पताल मा उपचारका क्रममा एक बिरामीको मृत्युपछि उत्पन्न तनावले अस्पतालको सेवा प्रवाहमा अवरोध आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उनले चिकित्सकीय लापरवाहीका कारण मृत्यु भएको भन्ने मृतकका आफन्तहरूको आरोपबारे सत्यतथ्य छानबिन गर्न राज्यका निकायहरू रहेको उल्लेख गर्दै दोषी देखिए कानुनी कारबाही हुने स्पष्ट पारे। छानबिन नहुँदै उपचारमा संलग्न चिकित्सकलाई अपराधी करार गर्दै धम्क्याउने कार्य उचित नभएको उनको भनाइ छ।
सांसद राईले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै आफ्नो मान्छे गुमाउँदाको पीडा अत्यन्त संवेदनशील हुने बताएका छन्। साथै, उपचारमा लापरवाही भएको महसुस भएमा कानुनी बाटोबाट न्याय खोज्न सकिने भएकाले अस्पतालको सेवा प्रभावित नपर्ने गरी अघि बढ्न उनले आग्रह गरेका छन्।
यसैबीच, उनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि पीडित पक्षको भावनालाई बुझ्दै संयमता अपनाउन सुझाव दिएका छन्। घटनालाई भड्काउने गतिविधिबाट सचेत रहन र समस्याको समाधानतर्फ केन्द्रित हुन उनको आग्रह छ।
अस्पतालमा देखिएको डर–त्रासको वातावरण अन्त्य गरी बिरामीहरूले सहज रूपमा उपचार पाउने अवस्था सिर्जना गर्न मृतकका परिवार, अस्पताल प्रशासन, प्रहरी–प्रशासन तथा सरोकारवाला सबै पक्षलाई जिम्मेवार र सक्रिय बन्न सांसद राईले अपिल गरेका छन्।
भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाऊपालिका ६ बस्ने वर्ष ६२ को दिलसरा बिकको बैशाख १३ गते मृत्यु भए पछी मृतकको परिवार र अफन्ताहरू डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै आक्रोशित बनेको छ ।
बैशाख १५ गते बिहान करिब १०:३० बजे मृतकका आफन्त तथा आफूलाई पत्रकार बताउने केही व्यक्तिहरू अस्पताल प्रमुखको कार्यकक्षमा प्रवेश गरी मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीमाथि गालीगलौज, ज्यान मार्ने धम्की, हातपातको प्रयास तथा अभद्र व्यवहार गरेको अस्पताल प्रशासनले जनाएको छ । उक्त घटनाले अस्पतालको अत्यावश्यक बाहेकका सबै सेवा ठप्पा परिएको छ ।








