१३ माघ,

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा अनियमितता भएको आशङ्कामा यातायात व्यवस्था कार्यालय चाबहिलका १७ कर्मचारी तथा ट्राफिक प्रहरीका मोबाइल फोन जफत गरेको छ।

अख्तियार स्रोतका अनुसार यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुख (नवौं तह) पेशलकुमार पोखरेलसहित १७ कर्मचारीका २५ थान मोबाइल फोन नियन्त्रणमा लिइएको हो। त्यस्तै, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित तीन जना ट्राफिक प्रहरीको मोबाइल पनि जफत गरिएको छ।

यसैगरी, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित सात जनाबाट नौ थान मोबाइल फोन जफत गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले लिखित परीक्षा दिई असफल भएको मितिले तीन महिना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीहरूको उत्तरपुस्तिका समेत नियन्त्रणमा लिएको छ।

अनुसन्धानका क्रममा चाबहिलस्थित यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी तथा निजी संस्थाबीच मिलेमतो गरी पाँच हजारदेखि दस हजार रुपैयाँसम्म रकम असुली गरी लिखित परीक्षामा फेल भएका परीक्षार्थीलाई पास गराउने गरेको तथ्य खुलेपछि मोबाइल जफत गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख