२७ पुस,

बाँके ।  डुडुवा गाउँपालिका–४ स्थित एक नाबालिकामाथि मिति २०८२।०९।१७ गते भएको जबरजस्ती करणी सम्बन्धी घटनामा जिल्ला प्रहरी कार्यालय बाँकेले जाहेरी नलिएको र पीडितलाई न्यायिक प्रक्रियामा असहयोग गरेको भन्ने आरोपप्रति प्रहरी कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पीडित पक्षले मिति २०८२।०९।२५ गते काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी उक्त आरोप सार्वजनिक गरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार, पीडित बालिका मिति २०८२।०९।१७ गते नै प्रहरी सम्पर्कमा आएलगत्तै सोही दिन विस्तृत स्वास्थ्य परीक्षणसहित प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरिएको थियो। त्यस क्रममा पीडितलाई साथ ल्याउने सहजकर्तामार्फत तत्काल जाहेरी दरखास्त ल्याउन आग्रह गरिएको भए पनि “सल्लाह गरेर आउँछौं” भन्दै गएको पीडित पक्ष त्यसपछि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

पछि मिति २०८२।०९।२२ गते हुलाकमार्फत पीडित बालिकाकी आमाको नामबाट जाहेरी दरखास्त प्राप्त भएको थियो। तर, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार हुलाकबाट प्राप्त जाहेरी सनाखतपछि मात्र दर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले जाहेरवालासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको प्रहरीले स्पष्ट पारेको छ।

प्रहरीका अनुसार जाहेरवालाको घर ठेगानामा समेत पुगेर सम्पर्क गर्ने प्रयास गरिएको थियो तर निज घरमा नभेटिएको तथा आफन्त, सम्बन्धित संस्था र छिमेकीमार्फत पटक–पटक अनुरोध गर्दा पनि हालसम्म जाहेरवाला प्रहरी सम्पर्कमा नआएकाले जाहेरी दर्ता हुन नसकेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेले नाबालिकामाथि भएको जबरजस्ती करणी जस्तो गम्भीर घटनामा चासो नदिएको, अनुसन्धान नगरेको, दबाब र प्रभावमा परेको तथा पीडितलाई बेवास्ता गरेको भन्ने आरोपको खण्डन गरेको छ। प्रहरीले यस्ता गम्भीर घटनालाई अत्यन्त संवेदनशील रूपमा लिएर गहन अनुसन्धान गरिरहेको र निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ।

साथै, प्रहरीले पीडित पक्षलाई कुनै दबाब वा प्रभावमा नपरी प्रहरीको अनुसन्धानमा विश्वास गरी जाहेरी सनाखतसहित अनुसन्धान प्रक्रियामा सहयोग गर्न अपिल गरेको छ।

विज्ञप्तिमा केही व्यक्ति, समूह तथा सञ्चार माध्यमले व्यक्तिगत स्वार्थका लागि पीडितलाई दबाबमा पार्दै अनर्गल प्रचारप्रसार गरेको आरोपसमेत लगाइएको छ। यसले पीडितलाई थप पीडित बनाउने कार्य भइरहेको भन्दै यस्ता गम्भीर घटनामा संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्न सबै सरोकारवालालाई अनुरोध गरिएको छ।

नेपाल प्रहरी संगठन सधैं नागरिक सेवामा समर्पित रही पीडितलाई न्याय दिलाउने, पीडकलाई कानुनी दायरामा ल्याउने तथा निष्पक्ष, वस्तुनिष्ठ र दबाबरहित अनुसन्धान गर्न पूर्ण प्रतिबद्ध रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख