
२४ असोज,
काठमाडौं – नेपाल प्रहरीले पछिल्ला केही दिनदेखि विभिन्न पत्रपत्रिका र सञ्चार माध्यमहरूमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले “पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु” भनेको भन्ने आशयका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रहरी महानिरीक्षक खापुङले कहीँ कतै त्यस्तो अभिव्यक्ति नदिएको स्पष्ट गरेको छ। विज्ञप्तिमा भनिएको छ, “आईजीपीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका बैठकहरूमा समसामयिक घटनाक्रम र त्यसबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा मात्र विश्लेषण गर्दै शान्ति–सुरक्षा कायम गर्ने विषयमा सौहार्दपूर्ण छलफल गर्नुभएको हो।”
प्रधान कार्यालयका अनुसार सो प्रसङ्गमा प्रकाशित वा प्रसारित भ्रामक समाचारहरू तथ्यहीन र भ्रम सिर्जना गर्ने खालका छन्।
विज्ञप्तिमा जनाइएको छ कि प्रहरी संगठन जनताको शान्ति, सुरक्षा र कानूनको शासन सुनिश्चित गर्न प्रतिबद्ध छ।
विज्ञप्तिमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) तथा केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले हस्ताक्षर गरेका छन्।