
२३ साउन,
बाँके — कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका ३८० मुद्दामध्ये २७७ वटा मेलमिलापमार्फत फर्छ्यौट गरेको छ। बाँकी १०३ मुद्दा भने प्रक्रियामा रहेको नगरपालिकाको न्यायिक समितिका सदस्य–सचिव आशिष वर्माले जानकारी दिए ।
वर्माका अनुसार दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै ८६ वटा लेनदेनसम्बन्धी रहेका छन्। त्यस्तै, घर–जग्गासम्बन्धी ७५, पारिवारिक मामिलासम्बन्धी ३७, बाटोसम्बन्धी २३, घरबहालसम्बन्धी १३, बाली नोक्सानी र अंश विवाद ५–५, ज्याला मजदुरीसम्बन्धी २, गाली बेइजतीसम्बन्धी १ र अन्य प्रकृतिका ३० मुद्दा रहेका छन्।
मेलमिलापको माध्यमबाट मुद्दा समाधान गर्दा दीर्घकालीन प्रभावकारी परिणाम आउने वर्माको भनाइ छ। ‘‘विभिन्न चरणमा दुवै पक्षलाई छलफल गराएर जित–जितको आधारमा विवादको समाधान गरिएको छ,’’ उनले भने ।
कोहलपुर नगरपालिकाले वडास्तरमै विवाद समाधान गर्नका लागि ७६ जना मेलमिलापकर्तालाई सूचीकृत गरेको छ। उपप्रमुख तथा न्यायिक समितिका संयोजक संगिता सुवेदीका अनुसार १५ वटै वडामा स्थापना गरिएका मेलमिलाप केन्द्रमार्फत दुवै पक्षको आवाज सुनी, सहभागीमूलक पद्धतिबाट विवाद समाधान गर्ने काम भइरहेको छ। – गोरखापत्र