
२० साउन,
बाँके — राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले आज जारी गरेको सूचनाअनुसार परीक्षा भदौ २८ र २९ गते सञ्चालन हुनेछ। परीक्षा बिहान ११:०० बजेबाट दिउँसो २:०० बजेसम्म सञ्चालन हुनेछ।
मौका परीक्षामा सहभागी हुन पाउने विद्यार्थीहरूमा सैद्धान्तिकतर्फ एनजी (नन ग्रेडेड) प्राप्त गरेका, बढीमा दुई विषयमा अनुपस्थित भएका, वा सैद्धान्तिकतर्फ अरु विषयमा डी वा सोभन्दा बढी विषयमा डी ग्रेड ल्याएर कुनै एक विषयमा एनजी वा अनुपस्थित भएका विद्यार्थीहरू समावेश छन्।
यसबाहेक परीक्षाफल चित्त नबुझेका विद्यार्थीहरूले पुनर्योग (रिचेक) को लागि साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन्।
यसअघि २०७९ वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको नियमित तथा आंशिक परीक्षाको नतिजा सोमबार सार्वजनिक गरिएको थियो। नतिजाअनुसार ५२.९१ प्रतिशत विद्यार्थी मात्र नियमिततर्फ उत्तीर्ण भएका छन् भने एक लाख ८७ हजार २१ जना विद्यार्थी नन ग्रेड (एनजी) भएका छन्।