
१७ साउन,
कोहलपुर, बाँके — कोहलपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित ४९ वटा संस्थागत (निजी) विद्यालयहरूले आर्थिक तथा सामाजिक दृष्टिले पछाडि परेका वर्गका ५ हजार १ सय २७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन्। नगरपालिकाले शुक्रबार सूचना प्रकाशित गर्दै विद्यालयहरूले वितरण गरेको छात्रवृत्तिको विवरण सार्वजनिक गरेको हो।
नगरभित्र रहेका विद्यालयहरूले जेहेन्दार, द्वन्द्वपीडित, विपन्न, असहाय, महिला, आदिवासी जनजाति, दलित, मधेशी, अपाङ्गता तथा पिछडिएको समुदायका बालबालिकालाई छात्रवृत्तिमा समेटेका छन्। चालु आर्थिक वर्ष २०८२ मा Nursery देखि कक्षा १० सम्म भर्ना भएका कुल विद्यार्थीमध्ये करिब १८ प्रतिशतले छात्रवृत्ति प्राप्त गरेका छन्।
नगरपालिका अनुसार कोहलपुरका संस्थागत विद्यालयहरूमा हाल कुल २६ हजार ४७ जना विद्यार्थी अध्ययनरत छन्। तीमध्ये छात्रवृत्ति प्राप्त गर्ने ५,१२७ जना विद्यार्थीहरू यसप्रकार छन्:
- • जेहेन्दार — १,४५१ जना
- • द्वन्द्वपीडित — ९४ जना
- • विपन्न/असहाय — ९९५ जना
- • महिला (छात्रा) — ६९३ जना
- • आदिवासी/जनजाति — ७३६ जना
- • दलित — १४६ जना
- • मधेशी — ४४० जना
- • अपाङ्गता भएका — ६४ जना
- • पिछडिएको समुदाय — १६८ जना
त्यस्तै, नेपाल एपिएफ स्कुलका २३३ जना र बालज्योति मावि कोहलपुरमा अध्ययनरत १०७ जना नेपाल आर्मीका सन्ततिहरूले पनि आंशिक छात्रवृत्ति पाएका छन्।
नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार, “छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू लक्षित वर्गबाट रहेका छन् र यो सहयोगले उनीहरूको पठनपाठनमा महत्वपूर्ण टेवा पुग्नेछ।” उनले थपे, “धेरै ठूलो रकम नहोला, तर यस छात्रवृत्तिले लक्षित वर्गका नानीबाबुहरूलाई पढाइमा सहयोग पुग्नेछ भन्ने हाम्रो विश्वास छ।”
नगरपालिकाले राज्यका नीति कार्यान्वयन गर्ने क्रममा क्रिसा, प्याब्सन र एन–प्याब्सनसँग सहकार्य गर्दै आएको छ। नगरप्रमुख आचार्यले शैक्षिक क्षेत्रमा निजी विद्यालयहरूको सहयोग र उत्तरदायित्वप्रति धन्यवाद ज्ञापन गरेका छन्।
उनले भने, “शैक्षिक गुणस्तर सुधार र संस्थागत विद्यालयहरूको क्षमता विकासमा स्थानीय सरकार सधैं प्रतिवद्ध रहँदै आएको छ। आगामी दिनमा पनि यस्तै सहयोग, समन्वय र सहकार्यको अपेक्षा राख्दछौं।”