
१६ बैशाख,
न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको मूल्य लगातार बढिरहेको छ । इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी थप लम्बिन सक्ने खबर सार्वजनिक भएपछि तेल मूल्यमा आठौं दिन पनि वृद्धि देखिएको हो । तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुड फ्युचर्स शून्य दशमलव ४७ प्रतिशतले बढेर प्रति ब्यारेल १११ डलर ७८ सेन्ट पुगेको छ ।
त्यसैगरी, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट ९डब्ल्यूटीआई० शून्य दशमलव ५७ प्रतिशतले वृद्धि हुँदै १०० डलर ५ सेन्ट प्रति ब्यारेलमा कारोबार भइरहेको छ । मंगलबार तेलको दुबै बेञ्चमार्कको भाउ ३ दशमलव ७ प्रतिशतले उकालो लागेको थियो । पछिल्ला आठमध्ये सात दिनमा तेलको भाउ वृद्धि भएको छ ।
वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लामो समयसम्म जारी राख्ने तयारी गर्न निर्देशन दिएको जनाएको छ । रिपोर्टअनुसार, अमेरिकाले इरानको अर्थतन्त्र र तेल निर्यातमा थप दबाब दिन बन्दरगाहतर्फ जाने र आउने जहाजहरू रोक्ने रणनीति बनाएको छ । एजेन्सी








